‘सरके चुनर तेरी’ गीत विवाद संसदसम्म, भारत सरकारले लगायो प्रतिबन्ध
10 घन्टा पहिले प्रकाशित
एजेन्सी, चैत्र ४ गते । भारतीय चलचित्र केडी: द डेविल को गीत सरके चुनर तेरी लाई लिएर सुरु भएको विवाद अहिले भारतीय संसदसम्म पुगेको छ। गीतमा अभिनेत्री नोरा फतेही र अभिनेता सञ्जय दत्त देखिएका छन्। गीतका शब्द र नृत्यलाई अश्लील भन्दै व्यापक आलोचना भएपछि भारत सरकारले उक्त गीतमाथि आधिकारिक रूपमा प्रतिबन्ध लगाएको जनाएको छ।
भारतीय केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णव ले संसदमा बोल्दै गीतमाथि पहिले नै प्रतिबन्ध लगाइसकेको र आवश्यक कारबाहीका लागि केन्द्रीय चलचित्र प्रमाणन बोर्ड लाई निर्देशन दिइएको बताए। उनका अनुसार अभिव्यक्ति स्वतन्त्रता पूर्ण रूपमा असीमित नभई संविधानले तोकेको सीमा र समाजको सांस्कृतिक सन्दर्भभित्र प्रयोग हुनुपर्ने हो। गीत सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि निर्माण पक्षले पनि यसलाई युट्युबबाट हटाएको थियो।
गीतको विषयमा राष्ट्रीय महिला आयोग मा समेत उजुरी परेको छ। उजुरीमा गीत अत्यन्त अश्लील र महिलाको गरिमाविरुद्ध भएको उल्लेख गरिएको छ। आलोचना बढेपछि निर्माण पक्षले गीतलाई नयाँ शब्दसहित पुनः तयार पार्ने निर्णय गरेको जनाएको छ। विवादले चलचित्र उद्योगदेखि सामाजिक तथा धार्मिक संघ–संस्थासम्म व्यापक बहस सिर्जना गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments