गीतका शब्दलाई लिएर नोरा फतेहीको नयाँ विवाद
12 घन्टा पहिले प्रकाशित
एजेन्सी, चैत्र ३ गते । बलिउड अभिनेत्री नोरा फतेही आफ्नो उत्कृष्ट नृत्यका कारण चर्चित भए पनि यतिबेला नयाँ विवादमा तानिएकी छन्। उनको आगामी चलचित्र केडी: द डेविल को गीत सरके चुनर तेरी सरके सार्वजनिक भएलगत्तै त्यसका शब्दलाई लिएर सामाजिक सञ्जालमा आलोचना सुरु भएको हो। मार्च १५ मा सार्वजनिक भएको यस गीतमा नोरा फतेहीसँगै सञ्जय दत्त पनि देखिएका छन्।
गीतका शब्दलाई लिएर बलिउड गायक अरमान मलिक ले समेत असन्तुष्टि व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत गीत लेखनको स्तर निकै तल झरेको भन्दै आलोचना गरेका हुन्। गीतमा नोरा घाँघरा–चोलीमा नृत्य गरिरहेकी देखिन्छिन् भने गीतका बोल अश्लील भएको भन्दै धेरैले निर्माण पक्षको आलोचना गरेका छन्। मंगली ले गाएको र रकीब आलम ले लेखेको यो गीत विवाद बढेपछि आधिकारिक युट्युब च्यानलबाट हटाइएको छ।
यसैबीच केडी: द डेविल आगामी अप्रिल ३० मा सिनेमाघरमा प्रदर्शन हुने तयारीमा छ। चलचित्रमा सञ्जय दत्त, नोरा फतेही, रमेश अरविन्द, वी. रविचन्द्रन र शिल्पा शेट्टी लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ। गीतलाई लिएर सुरु भएको विवादले चलचित्रको व्यापारमा कस्तो असर पार्छ भन्ने कुरा भने हेर्न बाँकी छ।
कमेन्ट गर्नुहोस्
view comments