कुवैतबाट सुरक्षित भारत फर्किइन् उर्वशी रौतेला

9 घन्टा पहिले प्रकाशित

एजेन्सी, फाल्गुन २६ गते । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावबीच बलिउड अभिनेत्री उर्वशी रौतेला कुवैतबाट सुरक्षित रूपमा भारत फर्किएकी छन्। उनी मुम्बई पुगेपछि सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै आफ्नो सुरक्षित आगमनबारे जानकारी दिएकी हुन्।

उर्वशी केही व्यावसायिक कार्यक्रमका लागि कुवैत पुगेकी थिइन्। त्यस क्रममा मध्यपूर्व क्षेत्रमा युद्धको तनाव बढेपछि उनी पनि चिन्तित बनेकी थिइन्। भारत फर्किने क्रममा विमानमा चढेपछि आफूलाई अचानक डर र बेचैनी महसुस भएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्।

उनले इन्स्टाग्राम स्टोरीमा भावुक सन्देश लेख्दै विमानमा बस्दासम्म सबै ठीक रहेको तर अचानक डरको अनुभूति भएको र मुटु तीव्र गतिमा धड्किन थालेको बताएकी थिइन्। उनले आफ्नो सुरक्षित यात्राका लागि प्रशंसकहरूलाई प्रार्थना गर्न पनि आग्रह गरेकी थिइन्।

मुम्बई पुगेपछि भने उनले इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गरेकी छन्, जसमा उनी खुशी मुद्रामा देखिएकी छन्। भिडियोमा उनी रोल्स–रोयस कारमा पोज दिँदै तथा स्विमिङ पुलको छेउमा होली खेल्दै गरेको देखिन्छ।

यसअघि पनि खाडी क्षेत्रबाट केही भारतीय कलाकारहरू स्वदेश फर्किएका छन्। अभिनेत्री ईशा गुप्ता, सोनल चौहान तथा बंगाली अभिनेत्री सुभाश्री गांगुली पनि हालै विभिन्न खाडी देशबाट भारत फर्किएका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?