‘रमिताको पिरती’ मा सुशान्तको गीत सार्वजनिक : आना–सुशान्त ब्रेकअप हल्लाबीच हार्दिक सम्बन्धको सङ्केत
13 घन्टा पहिले प्रकाशित
काठमाडौं, माघ २७ गते । आना शर्मा र सुशान्त केसीबीच ब्रेकअपको चर्चा चलेको समयमा फिल्म ‘रमिताको पिरती’ मा समावेश सुशान्तको स्वर रहेको गीत ‘तिम्रै छेऊमा’ सार्वजनिक भएको छ। फिल्म रिलिजको चौथो दिन सुशान्तले आफ्नो फेसबुक र इन्स्टाग्राममार्फत यो गीत रिलिज गरेका हुन्। गीतमा सुशान्तकै स्वर र संगीत छ भने दृश्यमा धिरज मगर र आना शर्माका हार्दिक क्षणहरू समेटिएका छन्। केही समयअघि दुवैले एकअर्कालाई इन्स्टाग्राममा अनफलो गरेपछि सम्बन्ध बिग्रिएको हल्ला चले पनि यो गीत र सुशान्तको पोस्टले उनीहरूबीचको सम्बन्ध अझै हार्दिक रहेको सङ्केत गरेको छ।
सुशान्तले फिल्मलाई राम्रो बनेको प्रतिक्रिया दिँदै आनालाई इन्स्टाग्राममा शुभकामना पनि दिएका थिए। शुक्रबारदेखि प्रदर्शनमा आएको ‘रमिताको पिरती’ मा दर्शक बढ्दै गएको र सकारात्मक प्रतिक्रिया आएको निर्माता सागर लम्सालले बताएका छन्। अर्का निर्माता सुवास कोइरालाले डिलडेसँगै व्यापारमा वृद्धि हुने विश्वास व्यक्त गरेका छन्। सुदिप्ताको लेखन तथा निर्देशनमा बनेको यो फिल्मले रमिता नामकी युवतीको सम्बन्धका विभिन्न आयामहरूको कथा प्रस्तुत गर्छ। फिल्ममा आना शर्मा र धिरज मगरको मुख्य भूमिका छ भने समिर श्रेष्ठ, विनय श्रेष्ठ, जियाना, गौमाया गुरुङ, पशुपति राई, रेणु योगी, थिन्ले ल्हामोलगायत कलाकारहरूको अभिनय छ। दर्शकहरूले फिल्मको कथा र प्रस्तुतिलाई मन पराइरहेका छन्।
कमेन्ट गर्नुहोस्
view comments