पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियान आजदेखि : साढे ३ लाख बालिकालाई लक्षित

17 घन्टा पहिले प्रकाशित

काठमाडौं, माघ २५ गते ।  पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियान आज आइतबारदेखि देशभर सञ्चालन हुँदैछ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यो अभियान फागुन १५ गतेसम्म चल्नेछ। स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर पुगेका किशोरीलाई मुख्य लक्षित गरी खोप लगाइने छ।

गत वर्षको अभियानमा छुटेका कक्षा ७ देखि १० सम्मका छात्रा तथा ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि यसपटक खोप दिइने व्यवस्था गरिएको छ। यस अभियानमा करिब साढे ३ लाख बालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ। खोप विभिन्न पालिकामा फरक–फरक दिनमा सञ्चालन हुने भएकाले नजिकको विद्यालय वा स्वास्थ्य संस्थामा बुझेर ढुक्कसँग लगाउन स्वास्थ्य केन्द्रले आग्रह गरेको छ। एचपीभी खोप निःशुल्क, सुरक्षित तथा प्रभावकारी छ र प्रारम्भिक किशोरावस्थामा लगाउँदा बढी प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएका छन्।

गत वर्ष करिब १६ लाख किशोरीलाई खोप लगाइएको थियो जसमध्ये ९४ प्रतिशतले खोप प्राप्त गरेका थिए। पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण एचपीभी संक्रमण हो। यो भाइरसका २०० भन्दा बढी प्रजाति छन्। नेपालमा हरेक वर्ष दुई हजारभन्दा बढी महिलामा पाठेघरको मुखको क्यान्सर देखिने अनुमान छ। महिलामा हुने क्यान्सरमध्ये यो दोस्रो मुख्य कारण हो भने क्यान्सरबाट महिलाको मृत्यु हुने प्रमुख कारण पनि यही रहेको छ। समयमै खोप लगाउँदा यो रोगबाट बच्न सकिने भएकाले अभिभावकहरूलाई छोरीहरूलाई खोप लगाउन स्वास्थ्य मन्त्रालयले विशेष आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?