संघर्षबाट सफलतासम्म : ५५ वर्षका मनोज तिवारीको प्रेरणादायी जीवनकथा

14 घन्टा पहिले प्रकाशित

एजेन्सी, माघ २० गते । भोजपुरी फिल्म उद्योगका चर्चित अभिनेता तथा गायक मनोज तिवारीले फागुन १ गते ५५औँ जन्मदिन मनाएका छन्। आज करोडौँको सम्पत्ति र अपार लोकप्रियता कमाएका मनोज तिवारीको जीवन संघर्षले भरिएको थियो। बाल्यकालमै पिताको निधन भएपछि आमामाथि परिवारको सम्पूर्ण जिम्मेवारी आयो। छ जना दाजुभाइ–बहिनीबीच हुर्किएका मनोजले गरिबीका कारण पेटभरि खाना नपाएको, विद्यालय जान सवारी साधन नहुँदा किलोमिटरौँ पैदल हिँड्नुपरेको पीडा भोगेका थिए। तर कठिन परिस्थितिसँग हार नमानी उनले निरन्तर संघर्ष गर्दै आफ्नो बाटो आफैँ बनाएका हुन्।

वाराणसीमा जन्मिएका मनोज तिवारीले घाटघाटमा गीत गाएर जीवन चलाए, मन्दिर र जागरणमा गाएपछि संगीत क्षेत्रमा अवसर पाउन थाले। पहिलो म्युजिक एल्बम ‘बगलवाली’ले उनलाई चर्चामा ल्यायो भने २००३ मा आएको भोजपुरी फिल्म ‘ससुरा बड़ा पईसावाला’ ले रातारात सुपरस्टार बनायो। कम बजेटमा बनेको यो फिल्मले ऐतिहासिक कमाइ गरेको थियो। त्यसपछि उनले थुप्रै हिट फिल्म र गीत दिए। संघर्षका दिनमा तीन वर्ष ड्राइभरसमेत बनेका मनोज तिवारी आज राजनीति र मनोरञ्जन दुवै क्षेत्रमा सफल छन्। हाल उनको कुल सम्पत्ति करिब ३३ करोड रुपैयाँ रहेको बताइन्छ, जसले उनको संघर्ष र सफलताको कथा अझ प्रेरणादायी बनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?