उदयपुर सिटी पैलेसमा रश्मिका मन्दाना र विजय देवरकोंडाको विवाहको तयारी? सोसल मिडियामा भाइरल

3 दिन पहिले प्रकाशित

एजेन्सी, माघ १८ गते ।  दक्षिण भारतीय सुपरस्टार रश्मिका मन्दाना र अभिनेता विजय देवरकोंडाको विवाहको चर्चा फेरि तिब्र बनेको छ। सोसल मिडियामा एक भिडियो भाइरल भएको छ, जसमा इन्स्टाग्राम युजर तान्या नामकी एक महिलाले उदयपुरको सिटी पैलेसमा रश्मिका र विजयको विवाहको तयारी भइरहेको दाबी गरेकी छन्। उनले भिडियोमा भव्य सजावट देखाउँदै भनेकी छन् कि फेब्रुअरी २, २०२६ (फागुन २० गते) मा विवाह हुँदैछ।

भिडियोमा सिटी पैलेसको भित्री भागमा ठूला–ठूला रातो रंगका पर्दा, झुमरहरू जमिनमा राखिएको, सुनौलो बर्तनहरू र अन्य भव्य सजावट देख्न सकिन्छ। तान्या ले यो ‘एक्सक्लुसिभ’ खबर भएको दाबी गर्दै सजावटलाई फिल्म सेटजस्तो लागेको बताएकी छन्। तर यो दाबीको आधिकारिक पुष्टि भएको छैन। रश्मिका वा विजय दुवैले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
भिडियोमा धेरै युजरहरूले उत्साहित प्रतिक्रिया दिएका छन्। कसैले ‘काश यो साँचो होस्’ भनेका छन् भने कसैले ‘यो गोपनीयता हनन होइन र?’ भन्दै प्रश्न गरेका छन्। केहीले विवाहको मिति पत्ता लगाउन अनुरोध गरेका छन् भने अरूले ‘साँचो भए पनि यस्तो जानकारी किन लिक गरिरहेका छौ?’ भन्दै आलोचना गरेका छन्।
२०२५ अक्टोबरमा आएको रिपोर्टअनुसार रश्मिका र विजयले हाइड्राबादमा गोप्य रूपमा सगाई गरिसकेका थिए। सगाईमा परिवारका सदस्यहरू मात्रै उपस्थित थिए।
रश्मिका र विजयले २०१८ मा फिल्म ‘गीता गोविन्दम’ मा पहिलो पटक सँगै काम गरेका थिए। त्यसपछि २०१९ मा ‘डियर कॉमरेड’ मा पनि जोडी बने। दुवै फिल्ममा उनीहरूको केमिस्ट्रीले फ्यानहरूलाई प्रभावित गरेको थियो। आधिकारिक रूपमा डेटिङको घोषणा नभए पनि फ्यानहरूले २०१८ देखि नै उनीहरूलाई जोडी मान्दै आएका छन्।
रश्मिकाले २०२५ मा ‘छावा’, ‘सिकन्दर’, ‘कुबेरा’, ‘थामा’ र ‘द गर्लफ्रेन्ड’ जस्ता फिल्ममा काम गरेकी छन्। २०२६ मा उनको ‘ककटेल २’ र ‘मैसा’ रिलिज हुँदैछ। विजयको आगामी फिल्ममा ‘रोडी जनार्दन’ र ‘रणबाली’ छन्।

यो भिडियोले फेरि एकपटक रश्मिका–विजयको विवाहको चर्चालाई तताएको छ, तर यो कति साँचो हो भन्ने पुष्टि हुन बाँकी छ। दुवै कलाकारले यसबारे मौनता साधेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?