आज श्रीपञ्चमी: सरस्वती पूजा गर्दै देशभर वसन्तपञ्चमी मनाइँदै

26 दिन पहिले प्रकाशित

जनकपुरधाम, माघ ९ गते । आज माघ शुक्ल पञ्चमीका दिन प्रत्येक वर्षझैँ विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरी देशभर श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी पर्व मनाइँदैछ। आजको दिनलाई विद्या आरम्भका लागि शुभ मानिने भएकाले बालबालिकालाई अक्षरारम्भ गराउने परम्परा छ। सरस्वतीको पूजा गरे विद्या, बुद्धि र सिर्जनशीलता बढ्ने विश्वासका साथ देशभरका सरस्वती मन्दिरहरूमा श्रद्धालुको भीड लागेको छ।

विद्या र सिर्जनाकी देवी सरस्वतीलाई भारती, शारदा, हँसवाहिनी, वागीश्वरीलगायत विभिन्न नामले पुकार्ने गरिन्छ। विशेष गरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार र पत्रकारले कलम, कापी, पुस्तक तथा वाद्ययन्त्रलाई सरस्वतीकै स्वरूप मानी पूजा–आराधना गर्ने चलन छ। सूर्य उत्तरायणतर्फ लागी दिन लामो हुने र वसन्त ऋतुको प्रारम्भ हुने विश्वासका कारण यस दिनलाई वसन्तपञ्चमी भनिन्छ। आजका दिन विवाह, व्रतबन्ध, शिक्षारम्भजस्ता कार्यका लागि साइत हेर्नु नपर्ने विश्वास पनि छ भने हनुमानढोका दरबारस्थित नासल चोकमा राष्ट्राध्यक्षबाट वसन्त श्रवण गर्ने परम्परासमेत रहँदै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?