प्रधानमन्त्री मोदीद्वारा प्रशान्त तामाङको निधनमा शोक व्यक्त, गायन–अभिनयको प्रशंसा
2 दिन पहिले प्रकाशित
एजेन्सी, पुष २९ गते । गायक तथा अभिनेता प्रशान्त तामाङको निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री मोदीले प्रशान्तकी श्रीमती मार्था एलीलाई शोकपत्र पठाउँदै उनको निधनले अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ। उक्त शोकपत्र भारतीय जनता पार्टीका सांसद तथा पार्टीका राष्ट्रिय प्रवक्ता राजु विष्टले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। पत्रमा प्रधानमन्त्री मोदीले प्रशान्तको मधुर गायन र उत्कृष्ट अभिनयको खुलेर प्रशंसा गर्नुभएको छ।
मोदीले स्वर्गीय प्रशान्त तामाङलाई सम्झँदै आफ्नो कला, दृढ संकल्प र अपार प्रतिभामार्फत मनोरञ्जन क्षेत्रमा अलग पहिचान बनाउन सफल भएको उल्लेख गर्नुभएको छ। साथै, उनको जीवन यात्रा अनगिन्ती मानिस, विशेषगरी युवापुस्ताका लागि प्रेरणाको स्रोत बनेको भन्दै सपना देख्न र ती पूरा गर्न कडा परिश्रम गर्न उत्प्रेरित गर्ने बताउनुभएको छ। यसअघि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि प्रशान्तको निधनमा शोक व्यक्त गरेकी थिइन्। आइतबार नयाँ दिल्लीमा हृदयघातबाट निधन भएका प्रशान्तको शव सोमबार जन्मस्थल दार्जिलिङ लगिएको छ भने मंगलबार सम्मानसहित अन्त्येष्टि गरिने जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments