कक्षा १२ को परीक्षा आवेदन फाराम खुला, पुस मसान्तसम्म साधारण शुल्कमा बुझाउन सकिने
3 दिन पहिले प्रकाशित
काठमाडौं, पुष ८ गते । राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरेको छ । बोर्डले शैक्षिक सत्र २०८२/०८३ अन्तर्गत नियमित तथा आंशिक दुवै तर्फका विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको हो । सूचना अनुसार साधारण शुल्कमा आवेदन दिन चाहने विद्यार्थीले २०८२ पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ भने विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सकिने व्यवस्था गरिएको छ । नियमिततर्फ रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ८२ भएका तथा आंशिकतर्फ ७९, ८० र ८१ भएका परीक्षार्थी मात्र सहभागी हुन पाउनेछन् ।
बोर्डका अनुसार नियमित परीक्षार्थी हुन कक्षा ११ को सैद्धान्तिकतर्फ न्यूनतम ‘डी’ र आन्तरिक वा प्रयोगात्मकतर्फ ‘सी’ ग्रेड अनिवार्य छ । परीक्षा शुल्क प्रति विद्यार्थी ८०० रुपैयाँ तोकिएको छ भने विलम्ब शुल्कसहित १६०० रुपैयाँ लाग्नेछ । प्रयोगात्मक विषयका लागि अतिरिक्त शुल्क बुझाउनुपर्ने व्यवस्था छ । आवेदन फाराम विद्यार्थी स्वयंले भरी विद्यालयमार्फत बोर्डको अनलाइन प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ । शुल्क भुक्तानीका लागि बैंक भौचरका साथै कनेक्ट आईपीएस, ई–सेवा, खल्ती र आईएमई–पे जस्ता डिजिटल माध्यम प्रयोग गर्न सकिने बोर्डले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
view comments