मधेश प्रदेशमा ३४ प्रतिशतले मात्र लगाए कोरोना विरुद्धको पूर्ण डोज खोप
4 वर्ष पहिले प्रकाशित
२०७८ माघ १० गते। कोरोना भाइरसको तेस्रो लहर चलिरहेको समय मधेश प्रदेशमा कुल जनसंख्याको ३४ प्रतिशत नागरिकले मात्र कोरोना विरुद्धको भ्याक्सिनको दुवै डोज लगाएका छन् ।
स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजय झाका अनुसार प्रदेशमा हालसम्म कुल जनसंख्याको ३४ प्रतिशत नागरिकले खोपको पूर्ण डोज र ३९।५९ प्रतिशत नागरिकले पहिलो डोज लिएको जानकारी दिए ।
प्रदेशमा ६३ लाख ४३ हजार ९७० जना जनसंख्या रहेकोमा १८ वर्ष भन्दा माथिका ६६ प्रतिशत अर्थात ४१ लाख ६० हजार ४२५ र १२ देखि १७ वर्ष सम्मका ११ प्रतिशत नागरिक अर्थात ७ लाख १५ हजार ३४२ जनालाई भ्याक्सिन दिने लक्ष्य लिएको छ ।
लक्ष्य अनुसार भने मधेश प्रदेशमा १८ वर्ष भन्दा माथिका ५१।८ प्रतिशत नागरिकलाई खोपको पूर्ण डोज र ६०।४ प्रतिशत नागरिकले पहिलो डोज लिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । १२ वर्ष देखि १७ वर्षसम्मका भने ६७।२ प्रतिशतले खोपको पहिलो मात्रा लिएका छन् ।
मधेश प्रदेशमा आइतबारसम्म कुल जनसंख्या मध्ये २१ लाख ५६ हजार ९६४ जनाले भ्याक्सिनको पूर्ण डोज लगाएका छन् । पर्सामा सबैभन्दा बढी ५ लाख २८ हजार ३१६ जनाले खोपको पूर्ण डोज लगाएका छन् ।
त्यस्तै सर्लाहीमा ३ लाख ८७ हजार ६५९, धनुषामा ३ लाख २१ हजार ७५४, बारामा ३ लाख २० हजार ८५१, सप्तरीमा २ लाख ३६ हजार ३१६, रौतहटमा २ लाख २९ हजार ३८१, सिरहामा २ लाख २० हजार ३७७ र महोत्तरीमा १ लाख ९५ हजार ५९८ जनाले भ्याक्सिन लगाएका छन् ।
लक्षित जनसंख्याको ४४ प्रतिशत नागरिकले लगाएको खोपको पूर्ण डोज
मधेश प्रदेशमा कोरोना भाइरस विरुद्धको अभियान सुस्त गतिमा चलेको छ । यस प्रदेशमा हालसम्म १२ वर्ष देखि माथिका उमेरका ४४।२ प्रतिशत नागरिकले कोरोना विरुद्धको भ्याक्सिन लगाएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सर्लाहीमा ५५।५, बारामा ४९।४, धनुषामा ४९।१, पर्सामा ४३।८, सप्तरीमा ४२।७ प्रतिशत, सिरहामा ४०।७, महोत्तरीमा ३५।४ र रौतहटमा ३४।७ प्रतिशत लक्षित नागरिकले कोरोना विरुद्धको भ्याक्सिनको पूर्ण डोज लगाएका छन् ।यस प्रदेशमा पहिलो डोज भने ५१।५ प्रतिशत नागरिकले लगाएका छन् ।
करिब ११ हजारले लगाए बुस्टर डोज
नेपाल सरकारले अग्रपंक्तिमा खटेकाहरुलाई बुस्टोर डोज दिन सुरु गरेकोमा मधेश प्रदेशमा करिब ११ हजार जनाले बुस्टर डोज लगाएका छन् । आइतबारसम्ममा मधेश प्रदेशमा १० हजार ९ सय ९८ जनाले बुस्टर डोज लगाएको निर्देशक झाले जानकारी दिए ।
बारामा सबैभन्दा बढी ३ हजार २ सय २० जनाले बुस्टर डोज लगाएका छन् । त्यस्तै सर्लाहीमा २ हजार २६, धनुषामा १ हजार ९ सय ६०, रौतहटमा १ हजार ८ सय २३, सिरहामा १ हजार ८७, महोत्तरीमा ४ सय १६, सप्तरीमा ३ सय २१ र पर्सामा १ सय जनाले बुस्टर डोज लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments