सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा–सम्पत्ति प्रतिवेदन सार्वजनिक गर्ने
2 दिन पहिले प्रकाशित

काठमाडौं, असोज २४ । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले नेपाल सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बिहीबार मन्त्रालयमा भएको छलफलपछि उक्त प्रतिवेदन सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। उनले यो निर्णयको जानकारी सामाजिक सञ्जालमार्फत दिँदै पारदर्शिता र जवाफदेहिताको दिशा लिएको बताए।
यसैबीच, नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा बिरामीको उपचारका लागि आवश्यक रेडियोधर्मी औषधिहरू (रेडियो आइसोटोप्स) अब नेपालमै उत्पादन गर्ने तयारी पनि अघि बढाइएको छ। मन्त्री पुनले औषधि उपचारका लागि मात्र प्रयोग हुने आणविक अनुसन्धान केन्द्र तत्काल खोल्ने निर्णय गरिएको बताए। साथै, सीटीईभीटीको पुनर्संरचना गरेर त्यहाँबाट सक्षम जनशक्ति उत्पादन गर्न कार्यदल गठन गर्ने तयारी पनि भएको छ।
मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रलाई प्रभावकारी बनाउन नास्ट (NAST) मा सुधार, पुनर्संरचना र प्रतिभाशाली नेपालीहरूलाई आकर्षित गर्ने नीति अघि सार्ने घोषणा गरे। उनले संस्कृत विश्वविद्यालयमा रिक्त सेवा आयोगका पदाधिकारीहरूलाई नियमअनुसार छिटो नियुक्त गर्ने निर्णय पनि लिएको बताए। यी सबै निर्णयहरू शिक्षा, अनुसन्धान र नवप्रवर्तन क्षेत्रमा सरकारको सक्रियता र सुधारतर्फको प्रतिबद्धता झल्काउने बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments