शैक्षिक परामर्श क्षेत्रमा ९० प्रतिशत संस्था अवैध, कारबाहीमा उत्रिँदै सरकार

12 दिन पहिले प्रकाशित

काठमाडौं,श्रावण २० गते । नेपालमा सञ्चालनमा रहेका धेरै शैक्षिक परामर्श केन्द्रहरू अनुमतिपत्रविना अवैधानिक रूपमा चलेको पाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार देशभर करिब १० हजारमध्ये ९० प्रतिशत परामर्श संस्था बिना दर्ता वा अनुमतिपत्र सेवा दिइरहेका छन्। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) द्वारा आयोजित अन्तरक्रियामा उनले यस्ता संस्थामाथि कडा निगरानी र कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए।

महानिर्देशक दाहालले अवैधानिक परामर्शदाताहरूलाई दर्ता भएर काम गर्न वा बन्द हुन चेतावनी दिँदै, ठगीलाई कुनै हालतमा सहन नहुने स्पष्ट पारे। शिक्षा मन्त्रालयका अधिकारी सेमन्त कोइरालाले भने नियमअनुसार सञ्चालन भइरहेका संस्थाले डराउनु नपर्ने बताउँदै सहकार्यका लागि खुला रहन आग्रह गरे। कार्यक्रममा प्रहरी उपरीक्षक कविता कटुवालले शैक्षिक परामर्श संस्था मार्फत अन्य व्यक्तिका नागरिकता प्रयोग हुने जस्ता गम्भीर अनियमितता समेत देखिएको जनाइन्। व्यवसायी तर्फबाट भने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले विभागको अनुगमन व्यवसायीलाई अनावश्यक झन्झट नबनोस् भन्ने आग्रह गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?