भारतमा फेरि बढ्यो कोभिड संक्रमण, केरला सबैभन्दा प्रभावित
3 दिन पहिले प्रकाशित

एजेन्सी, जेठ २८ गते । भारतमा कोभिड–१९ संक्रमण पुनः बढ्दै गएकाे पुष्टि भएको छ। भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधबार बिहानसम्म देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ८१५ पुगेको छ। यो संख्या जनवरीयता सबैभन्दा उच्च हो। पछिल्लो २४ घण्टामा तीन जनाको कोभिडसम्बन्धी मृत्यु भएसँगै यस वर्ष मृतक संख्या ६८ पुगेको मन्त्रालयले जनाएको छ। यता, कुल संक्रमितमध्ये ७ हजार ६४४ जना संक्रमणमुक्त भइसकेका छन्।
हाल देखिएको संक्रमणको बढोत्तरी नयाँ ओमिक्रोन भेरियन्टहरू— जेएन १, एनबी १.८.१, एलएपी .७ र एक्सएफसी—का कारण भएको चिकित्सकहरू बताउँछन्। यद्यपि ती भेरियन्टहरू बढी सरुवा भए पनि लक्षणहरू सामान्य नै देखिएको जनाइएको छ। केरला राज्य हाल सबैभन्दा बढी प्रभावित देखिएको छ, जहाँ सक्रिय संक्रमितको संख्या २ हजार ५३ पुगेको छ। गुजरात, पश्चिम बंगाल, दिल्ली र महाराष्ट्रमा पनि उल्लेखनीय सक्रिय संक्रमण देखिएको छ। विश्व स्वास्थ्य संगठनले ती भेरियन्टलाई चिन्ताजनक नभए पनि सतर्कता आवश्यक रहेको सुझाव दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments