प्रदेश २ सरकारले प्रदेशका सम्पूर्ण जिल्ला अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाउने

3 वर्ष पहिले प्रकाशित

२०७८ पुष १ गते 

प्रदेश २ सरकारले प्रदेशका सम्पूर्ण जिल्ला अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ।
प्रदेश मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले अध्यादेशमार्फत स्थापना गर्न लागेको प्रदेश कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ अनुदान दिने निर्णयसमेत गरेको छ।

सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालयको तयारीका लागि सो रकम दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।

प्रदेश सरकारले कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिसके पनि आवश्यक भौतिक पूर्वाधार अगाडि बढ्न सकेको छैन।

अर्थमन्त्री साहले विश्वविद्यालयको भौतिक पूर्वाधार विकासको लागि अनुदान दिइने निर्णय भएको बताए। विश्वविद्यालयको आवश्यक भौतिक पूर्वाधार विकासको लागि पहिलो चरणमा उक्त अनुदान दिइएको उनले जानकारी दिए।

मन्त्रिपरिषद्ले ‘बेटी पढाउ बेटी बचाउ’ अभियान सञ्चालनको जिम्मा पाएको सामाजिक विकास मन्त्रालयले तयारी गरेको कार्यविधिलाई परिमार्जनसहित पारित गरेको छ। त्यस्तै बन्द रहेको छोरी बीमा अभियानलाई पुनः सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?