नेपाली कांग्रेसको १४औं महाधिवेशन १३४ पदका लागि ५ सय ४८ जनाको उम्मेदवारी,प्रदेश २ बाट केसमा ढुंगाना र रिजाल निर्विरोध

4 वर्ष पहिले प्रकाशित

जनकपुरधाम, मंसिर २६ गते ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापतिदेखि केन्द्रीय सदस्यसम्म १३४ पदका लागि ५ सय ४८ जनाले उम्मेदवारी दिएका छन्।

तर शनिबार उम्मेदवारी दिएका उनीहरूमध्ये मनोनय फिर्ता लिने चाहनेहरूले आज (आइतबार) बिहान ११ बजेसम्म फिर्ता लिने समय तोकिएको छ । त्यसपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।मतदानचाहिँ भोलि सोमबार बिहान ८ बजे सुरु गर्ने कार्यतालिका छ।

निर्वाचन समितिका अनुसार एक सभापति पदमा ६, दुई उपसभापति पदमा ७ र दुई महामन्त्री पदमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ।

यसैगरी सहमहामन्त्रीतर्फ खसआर्य, महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडिएको समुदायबाट समेत गरी जम्मा ८ सिटमा २० जनाको उम्मेदवारी दर्ता भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।

यस्तै कांग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् ।ढुंगाना धनुषा निर्वाचन क्षेत्र नं. १ बाट नेपाली काँग्रेसबाट आफ्नो पक्कड बनाएका छन् भने रिजाल हाल प्रदेश २ काँग्रेसका अधिवेशन संयोजक छन् ।

प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएका हुन् ।यो क्लस्टरबाट जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल सर्वसम्मत निर्वाचित भएका हुन् ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो उम्मेदवारी दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?