प्रहरीसँग झडपपछि नेपाल शिक्षक महासंघको आकस्मिक बैठक
4 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख १४ गते । नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षकहरूमाथि प्रहरीको बल प्रयोगपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ। आज दिउँसो तीन बजे बानेश्वरस्थित रत्नराज्य माविमा बोलाइएको बैठकमा महासंघका पदाधिकारी, जिल्ला अध्यक्षहरू र आन्दोलन परिचालन समितिका सदस्यहरू सहभागी हुनेछन्। महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, बैठकमा आज भएको झडप र समग्र आन्दोलनको भावी रणनीति बारे छलफल हुनेछ।
नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले शिक्षक तथा विद्यालय कर्मचारीहरूमाथि लाठीचार्ज र पानीको फोहरा प्रहार गरेको थियो। झडपमा परी एक दर्जनभन्दा बढी शिक्षक घाइते भएका छन्। महासंघका महासचिव तुला बहादुर थापाले बढी घाइते भएकाहरूलाई सिभिल अस्पतालमा उपचारका लागि पठाइएको र सामान्य घाइतेहरूलाई आन्दोलन स्थलमै उपचार भइरहेको जानकारी दिएका छन्। प्रहरीको बल प्रयोगपछि आक्रोशित शिक्षकहरूले सडक छेउका ढुंगा उठाएर प्रतिकार गरेका थिए।
कमेन्ट गर्नुहोस्
view comments