विद्यालय शिक्षा ऐनको मागमा शिक्षकको आन्दोलन १३औं दिनमा, नयाँ शैक्षिक सत्रमै अन्योल

3 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख १ गते । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरू आज १३औं दिन पनि सडकमा उत्रिएका छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि काठमाडौंको माइतीघर मण्डलमा सुरु भएको आन्दोलन दुईपटक वार्ता भए पनि निष्कर्षविहीन भएपछि अझ चर्किएको हो। शिक्षकहरूले चैत २६ गतेदेखि शैक्षिक हड्ताल गर्दै आन्दोलनलाई थप तीव्र बनाएका छन्। उनीहरूको मुख्य माग भनेको सरकारसँग विगतमा भएका सहमतिअनुसार विद्यालय शिक्षा ऐन संसदमार्फत अथवा अध्यादेशमार्फत तुरुन्त जारी गर्नु हो।

शिक्षकहरूको आन्दोलनले अब देशको शैक्षिक कार्यक्रममा प्रत्यक्ष असर पार्ने देखिएको छ, किनभने वैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदैछ। यो दिनदेखि नयाँ विद्यार्थी भर्ना तथा घरदैलो अभियान सञ्चालन हुनुपर्ने शैक्षिक कार्यतालिका अनुसारको तयारी अवरुद्ध भएको छ। लाखौं शिक्षक सडकमा रहे पनि सरकारले शिक्षा क्षेत्रमा गम्भीरता नदेखाएको आरोप शिक्षक महासंघले लगाएको छ। आन्दोलन चर्कँदै जाँदा सरकारमाथि ऐन जारी गर्ने दबाब बढेको छ भने शिक्षकहरूमाथि पनि विद्यालय फर्कन समाजिक र नैतिक दबाब सिर्जना भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?