शिक्षक आन्दोलनले एसईई उत्तरपुस्तिका परीक्षण प्रभावित, नतिजा प्रकाशनमा ढिलाइको सम्भावना

2 दिन पहिले प्रकाशित

काठमाडौं, चैत २४ गते । शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौँमा जारी आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण प्रक्रिया प्रभावित हुने भएको छ। चैत २० गतेदेखि शैक्षिक सडक आन्दोलनमा रहेका शिक्षकहरूले कुनै पनि परीक्षाको उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेका छन्, जसले गर्दा यस साताबाट सुरु हुनुपर्ने कापी जाँचको काम रोकिने निश्चित भएको छ। नेपाल शिक्षक महासङ्घले भोलीबाट शैक्षिक हड्तालको घोषणा गर्दै कुनै पनि शैक्षिक गतिविधिमा सहभागी नहुने निर्णय लिएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आन्दोलन चाँडै अन्त्य नभए एसईई नतिजा प्रकाशनमा ढिलाइ हुने स्पष्ट पारेका छन्। बोर्डले असार ७ गतेसम्म नतिजा प्रकाशित गर्ने कार्यतालिका तय गरेको छ तर आन्दोलनकै कारण समयमै कापी परीक्षण सुरु नभए निर्धारित मिति प्रभावित हुने देखिएको छ। यस वर्ष पाँच लाख विद्यार्थीका लागि ३५ लाख उत्तरपुस्तिका परीक्षण गर्नुपर्नेछ, जसका लागि शिक्षकहरूमै भर पर्नुपर्ने अवस्था छ।

सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेपनि महासङ्घले वार्ताको औचित्य नदेखिने बताएको छ। महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा ऐनको माग पुरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्। "हामीलाई ऐन चाहिएको हो, वार्ता होइन," उनले स्पष्ट रूपमा भनेका छन्। यस स्थितिले विद्यार्थी, अभिभावक र शैक्षिक क्षेत्रलाई थप अन्योलमा पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?