१२ स्थानबाट सिर्सिया नदीको पानीको नमुना संकलन

4 वर्ष पहिले प्रकाशित

असार ३ गते । औद्योगिक प्रदूषणको चपेटामा परेको सिर्सिया नदीमा बग्ने पानीको गुणस्तर मापन गरिने भएको छ । वातावरण विभागले नदीमा बग्ने पानीको गुणस्तर मापन गर्न लागेको हो ।

आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत एउटै नदीमा अवस्थित वातावरणीय प्रभाव अध्ययन स्वीकृत भएका उद्योग आयोजनाहरुको सञ्चालनबाट नदीको पारिस्थितिकीय प्राणालीमा पर्न सक्ने एकीकृत वातावरणीय असरको स्थलगत अध्ययन गर्न विभागले टोली खटाएको थियो ।

विभागबाट आएको ४ सदस्यीय टोली गुणस्तर परीक्षणका लागि विभिन्न १२ स्थानबाट सिर्सिया नदीको पानीको नमुना संकलन गरेर काठमाडौं फर्किएको छ । विभागको सूचना अधिकारी एवं वैज्ञानिक अधिकृत सरोजा अधिकारी नेतृत्वको टोलीले औराहा खोला, हुलास स्टिलको तल्लो भाग, डाबर नेपाल, परवानीपुरको पुल, ज्योति स्पिनिङ, मितेरी पुल लगायत १२ ठाउँबाट नमुना संकलन गरेको छ ।

औद्योगिक प्रदुषणको चपेटामा परेको सिर्सिया नदीमा बग्ने पानीको वास्तविक स्थितिबारे अध्ययन गर्न नमुना संकलन गरिएको विभागका वातावरण निरीक्षक राजेश्वर पौडेलले जानकारी दिए । ‘सामान्य मान्छेले हेर्दा पनि सिर्सिया नदीमा औद्योगिक प्रदूषण देखिन्छ । पानीको स्थिति खराब छ । सन्तोषजनक छैन,’ उनले भने, ‘प्रयोगशाला परीक्षणबाट पीएच भ्यालु, सीओडी, बिओडी, लगायत जाँच गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?