मधेस प्रदेशमा निर्वाचन क्षेत्रलाई पुनः निर्धारण गर्नुपर्छ : उपेन्द्र यादव
4 वर्ष पहिले प्रकाशित
जेठ २५ गते । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशमा निर्वाचन क्षेत्रलाई पुनः निर्धारण गर्नुपर्ने बताएका छन्।
बुधवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष यादवले जुन समयमा संसदको निर्वाचन क्षेत्र निर्धारण भएको सो समयमा मधेसको जनसंख्या राष्ट्रिय जनगणना अनुसार ४६ प्रतिशत रहेको र सोही अनुसार संघीय निर्वाचन क्षेत्र निर्धारण भएको बताए।‘अहिलेको जनगणनाको रिपोर्टअनुसार तराईमधेसको जनसंख्या ५३ प्रतिशत छ। तर प्रतिनिधिसभाको क्षेत्र त्यही छ जुन ४६ प्रतिशत हुँदा थियो।
अब ५३ प्रतिशत प्रतिनिधित्व गर्नका लागि त्यसअनुसारको निर्वाचन क्षेत्र हुनुपर्यो। हामी भनिरहेका छौँ- निर्वाचन क्षेत्रलाई पुनः रिभ्यु गर्नका लागि। पहिला रिभ्यु गरौँ र त्यसपछि निर्वाचन क्षेत्रको निर्धारण गरौँ’, उनले भने।
अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली पनि त्रुटिपूर्ण रहेको बताए। समानुपातिक र प्रत्यक्ष दुबै निर्वाचन प्रणाली त्रुटिपूर्ण रहेको र गलत प्रणाली भएका कारण निर्वाचन अत्यधिक खर्चिलो रहेको उनको भनाइ छ।
उनले विश्वका ७१ मुलुकमा समानुपातिक प्रणालीबाट निर्वाचन भइरहेकाले त्यसमा पार्टीलाई भोट दिने गरेको र त्यहाँ जातिवाद, पावर केहीको आभास नरहेको भन्दै नेपालजस्तो गरिब मुलुकमा विकृतिमुलक र महँगो निर्वाचनले आउने दिनमा जनताको लोकतन्त्रबाट विश्वास उठ्ने खतरा बढ्दै जाने बताए।
यसैगरी, अध्यक्ष यादवले वर्तमान पाँच दलीय गठबन्धनबाट नै प्रदेश र संघीय निर्वाचनमा जाने र यो गठबन्धन कायमै रहने पनि बताए।
जसपा र लोसपा एकताको सवालमा मधेसको जनमत बाँडिएकाले कसैलाई फाइदा नभएको उनको भनाइ छ।
अध्यक्ष यादवले भने, ‘अहिले समीक्षा गर्ने समय रहेको छ र पार्टी फोड्नेलाई के फाइदा भएको छ?’
उनले पार्टी फुटेर कसैलाई फाइदा नभएकाले हिजोको समीक्षा गरेर एकजुट भई अगाडि बढ्नुपर्नेमा जोड दिए।
कमेन्ट गर्नुहोस्
view comments