जनकपुर सरसफाइको जिम्मा वडा–वडालाई

4 वर्ष पहिले प्रकाशित

जेठ २० गते ।मधेस प्रदेशको राजधानी रहेको जनकपुर उपमहानगरपालिले नगर क्षेत्र सरसफाइको जिम्मा वडा–वडालाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।

विगतमा उपमहानगरपालिका कार्यालयबाट मात्र केन्द्रितरूपमा नगरको सरसफाइ हुँदै आएकामा अब नगरको मुख्य सडक उपमहानगरपालिका कार्यालयबाट र सहायक गल्लीहरू सम्बन्धित वडा कार्यालयबाट सरसफाइ गर्ने गरी वडा–वडालाई जिम्मेवारी हस्तान्तरण गर्न लागिएको हो ।

उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मनोजकुमार साहले पदभार ग्रहण गरेकै दिन सरसफाइको जिम्मा वडा–वडामा विकेन्द्रिकृत गर्ने निर्णय गरीएको छ ।

त्यही निर्णयलाई कार्यान्वयन गर्न उपमहानगरपालिकाले २५ वटै वडालाई सरसफाइका लागि आवश्यक बजेट, जनशक्ति र सवारीसाधन हस्तान्तरण गर्ने तयारी छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधुम्नप्रसाद उपाध्यायका अनुसार चार टिपरलाई नगर क्षेत्रको फोहर व्यवस्थापनका लागि प्रयोग गरिएको छ ।

“थप ६ ट्र्याक्टर खरिद प्रक्रियामा छ, त्यसलाई पनि फोहरमैला व्यवस्थापनमा प्रयोग गर्छौँ”, उनले भन्ने । फोहर व्यवस्थापन गर्ने ठाउँ आभाव हुँदा विगतमा अस्तव्यस्त बनेको उपमहानगर क्षेत्रको सरसफाइलाई प्राथमिकतामा राखेर योजना अघि बढाइएको उपाध्यायले बताए ।

“फोहर सङ्कलन गरेर व्यवस्थापन कहाँ गर्ने भन्ने समस्या छ”, उनले भन्ने, “अस्थायीरूपमा तत्कालका लागि वडा नं। २० मा जग्गा भाडामा लिएर फोहरमैला व्यवस्थापन गर्दै आएका छौँ । स्थायी समाधानका लागि पहल भइरहेको छ ।” बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण जनकपुर उपमहानगरपालिकामा दैनिक फोहर बढ्दै गएको छ ।

केही वर्षअघिसम्म उपमहानगरपालिका क्षेत्रमा दैनिक सात मेट्रिक टनसम्म फोहर सङ्कलन हुने गरेकामा पछिल्लो समय दैनिक १० मेट्रिक टनसम्म सङ्कलन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?