नेपालमा कोरोना खोपको १ करोड ७० लाख भण्डारण क्षमता

4 वर्ष पहिले प्रकाशित

२७ पुस , २०७७

नेपालमा कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको एक हप्ताभित्र वितरणको अभियान सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले एक करोड ७० लाख खोपको भण्डारण गर्न सक्ने क्षमता रहेको र खोप प्राप्त भएको सात दिनभित्र खोप वितरण गर्ने तयारी भइरहेको बताउनुभएको हो ।
सोमबार पत्रकार सम्मेलन गर्दै उहाँले जतिसक्दो छिटो खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिने तयारी पनि थालिएको बताउनुभयो । निश्चित देशमा मात्रै कोरोनाविरुद्धको खोपको विकास भएकाले नेपालमा मागअनुसारको खोप ल्याउन भने समस्या भएको उहाँको भनाइ छ ।
उहाँले सञ्चालनमा रहेका १६ हजार खोप केन्द्रलाई परिचालन गर्ने र त्यसका लागि पाँच हजार कर्मचारी खटाउने पनि बताउनुभयो । यस्तै ५२ हजार महिला स्वंयसेविकालाई पनि परिचालन गर्ने सरकारको तयारी छ ।
यद्यपि एक करोड ७० लाख खोप आयातका लागि रुस, भारतलगायत देशसँग छलफल भइरहेको र कुटनीतिक पत्र पठाइसकेको उहाँले बताउनुभयो । खोप न्यायपूर्ण ढङ्गले वितरण गर्ने पनि मन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?