नगरप्रमुख महतोले बुझाए राजिनामा

4 वर्ष पहिले प्रकाशित

वैशाख १२ गते ।महोत्तरीको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले पदबाट राजिनामा दिएका छन् । उनले सोमवार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वीरेन्द्रजंग थापासमक्ष राजिनामा पत्र बुझाएका हुन् ।

त्यसअघि महतोले आफूले चढ्दै आएको सरकारी गाडी समेत बुझाएका थिए । उनी अघिल्लो चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।गाडी बुझाई राजिनामा दिएर महतोले पुनः मेयरमा लड्न आफ्नो मार्गप्रशस्त गरेका हुन् ।

तर यो समाचार तयार पार्दासम्म माओवादी केन्द्रले गौशालाका लागि मेयरको उम्मेदवार टुंग्याएको छैन् । गौशाला नगरपालिकाका मेयर पदमा माओवादीबाट तीनजना आकांक्षी छन् । निर्वतमान मेयर महतो, विष्णु लामा र विजय कुमार साह मेयरको आकांक्षी रहेको बताइएको छ ।

यता महतोले पार्टीले आफुलाई टिकट दिए पुन नगर प्रमुखमा लडेर जनताको अधुरो काम पुरा गर्ने बताएका छन् । ‘ यदि पार्टीले टिकट नदिएपनि नेकपा माओवादी केन्द्र छोड्दिन,’ उनले भने ‘पार्टीमा मेरो ३० वर्षको लगानी छ ।’ उनले पार्टीले आफूलाई छोडे पनि आफूले पार्टीलाई नछोड्ने विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?