जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेस र जसपाले मेयर नछाड्ने अडानमा

4 वर्ष पहिले प्रकाशित

वैशाख ४ गते ।मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा सत्ता गठबन्धनमा चुनावी तालमेल नहुने सम्भावना बढेको छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा०ले मेयर नछाड्नो अडानमा छन् । यसले सत्ता गठबन्धनबीच चुनावी तालमेलमेलको संकट देखिएको छ ।केन्द्रमा भने यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलबीच तालमेल गर्ने निर्णय भएको छ ।4 

तर काँग्रेस जनकपुरधाम नगर समितिका सभापति मनोजकुमार साह उपमहानगरपालिकाका २५ वटै वडाले चुनावमा गठबन्धन गर्न नहुनेमा जोड दिएको बताउँछन् ।

‘ग्रास रुटको म्यान्डेटलाई मानेर हामी अघि बढ्छौँ’, साहले भने, ‘नगर कार्यसमितिको पदाधिकारी बैठकले पनि एक जनाको नाम मात्रै प्रस्ताव गर्ने निर्णय नै गरेको छ। यस्तो अवस्थामा हामी गठबन्धनमा जान्नौं ।’

कांग्रेसलाई उम्मेदवारीका लागि मेयर र उपमेयर पद दिए गठबन्धन मान्ने, नत्र नमान्ने उनी बताउँछन् ।२०७४ को स्थानीय निर्वाचनमा जनकपुरधामको मेयर–उपमेयरमा तत्कालीन राजपा नेपालले जितेको थियो भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस थियो ।

राजपाबाट मेयर लालकिशोर साहले २१ हजार ९०३ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मनोजकुमार साहले ११ हजार १६४ मत ल्याएका थिए ।

तेस्रोमा एमालेका उम्मेदवार लक्ष्मीनारायण भगतले ४ हजार ८६५ मत ल्याएका थिए भने चौथो स्थानमा रहेका फोरम नेपालका उम्मेदवार विष्णुदेव साहले ३ हजार ६१२ मत ल्याएका थिए ।माओवादी केन्द्रका उम्मेदवार चन्द्रशेखर साहले २ हजार १२४ र नयाँ शक्तिका उम्मेदवार उमेश साहले ५८८ मत ल्याएका थिए ।

चुनावपश्चात् राजपा नेपाल र फोरम मिलेर जसपा हुँदा मधेशवादी दल निकै शक्तिशाली थियो । पछि पार्टी विभाजनपश्चात् मेयर लालकिशोर साह जसपातिर लागेका छन् भने उपमेयर रिताकुमारी मिश्र लोसपातिर ।

जनकपुरधाममा कांग्रेस, लोसपा र जसपा बलिया छन् । हुन त अघिल्लो मत परिणामअनुसार तत्कालीन राजपा सबैभन्दा शक्तिशाली थियो । पछि एकता भएर जसपा हुँदा झनै शक्तिशाली भयो भने पुनःविभाजन हुँदा जसपा र लोसपा दुवैको शक्ति घटेको छ ।

तर यहाँ लोसपा अझै पनि बलियो देखिन्छ। दोस्रोमा कांग्रेस, तेस्रोमा जसपा मानिन्छ। यसपछि मात्र क्रमशः एमाले, माओवादी, एकीकृत समाजवादी देखिन्छन् ।

सत्ता गठबन्धन दलका हिसाबले सबैभन्दा अघि कांग्रेस छ भने दोस्रोमा जसपा र तेस्रोमा माओवादी केन्द्र । तर जसपा जनकपुरधाम उपमहानगर नछाड्ने अडान छ ।

कांग्रेसबाट यसपटक पनि मनोज साह नै उम्मेदवार हुने पक्काजस्तै छ भने जसपाबाट लालकिशोर साह आउने प्रबल सम्भावना छ ।

गत चुनावको मतका आधारमा गठबन्धनका दलमध्ये जनकपुर उपमहानगरको नेतृत्व कांग्रेसले पाउनुपर्ने उक्त पार्टीका प्रदेश समिति अध्यक्ष कृष्ण यादव बताउँछन् ।

‘विगतको चुनावका आधारमा कांग्रेस पहिलो छ। यस हिसाबले भावनात्मक रूपमा जसपालगायत दलले स्वीकार गरेर आयो भने तालमेल हुन्छ। नत्र जसपाले नेतृत्वको दाबी कायमै राखे गठबन्धन नहुन पनि सक्छ’, उनले भने ।

यता जसपाका जनकपुर नगरअध्यक्ष विष्णुदेव साहले विगतको चुनावमा जे जसो भए पनि वर्तमान मेयर साह जसपामा रहेकोले त्यहीअनुसार नेतृत्व दाबी गरेको बताए ।

कांग्रेस एकलै चुनावमा गएपछि जसपा अन्य सत्ता गठबन्धनका दलसँग चुनावी तालमेल गर्ने साहले बताए ।तर, जसपाले नेतृत्व लिएर नै चुनावमा जाने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?