धनुषामा गोली हानी हत्या गरेको आरोपमा एक जना युवक पक्राउ
4 वर्ष पहिले प्रकाशित
चैत २५ गते ।धनुषामा गोली हानी हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको हंशपुर नगरपालिका–७ नौवाखोरका २० वर्षीय मनोज महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
बुधबार हंशपुर नगरपालिका–७ का १८ वर्षीय विजय रामको हत्या गरी गहँु खेतमा फालिएको अवस्थामा शव फेला परेको थियो। शव फेला परेको खबरपश्चात् प्रहरीले गरेको अनुसन्धानबाट यस घटनामा महरासहित तीन जनाको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक विक्रम साहको नेतृत्वमा खटेको अनुसन्धान टोलीले घटनास्थलको सूक्ष्म अनुसन्धान र विभिन्न व्यक्तिसँग सोधपुछ गर्दा विजय राम मंगलबार राति ७ बजे ३ जना साथीसँग घरबाहिर घुम्न जाने बहानामा निस्केका थिए।
प्रहरीले यस घटनामा महरालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा हंशपुर–७ कै १९ वर्षीय पंकज मण्डल, २२ वर्षीय जितु मण्डल र महराले मिलेर विजय रामलाई गोली हानी हत्या गरेको खुलेको प्रवक्ता बस्नेतले बताए।
तीनै जनाले पुरानो रिसइबीका कारण विजयको हत्या गरेको खुलेको छ। धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले हत्या गरिएका युवा र हत्या गर्ने सबै जना साथी नै रहेको र सोही क्रममा तिनीहरूबीच विवाद हुँदा हत्याको योजना बनेको बताए।
उनले भने, ‘यिनीहरूसँगै लागुऔषध खाने गरेका थिए। सोही क्रममा विवाद भएछ। हत्या भएका युवाले विभिन्न व्यक्तिको घरमा चोरी गर्ने साथीहरूको नाम भनेपछि प्रहरीले खोजतलास गर्दा दुःख हुन्थ्यो। त्यसपछि हत्याको योजना बनाएको खुलेको छ।’घटनास्थलबाट बरामद भएको चस्मा र सर्ट पंकज मण्डलको रहेको मृतकका बुवा र पक्राउ परेका महराले सनाखत गरेका हुन्।
पक्राउ परेका मनोजलाई ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको र फरार दुवै जनाको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments