टाइफाइडविरुद्धको खोप अभियानअन्तर्गत मधेस प्रदेशमा १८ लाख बालबालिकालाई खोप लगाइने

4 वर्ष पहिले प्रकाशित

२०७८ चैत २२ गते । नेपाल सरकारले देशव्यापी रूपमा सञ्चालन गर्न लागेको टाइफाइड रोग विरुद्धको खोप अभियानअन्तर्गत मधेस प्रदेशमा झण्डै १८ लाख बालबालिकालाई खोप दिने भएको छ।

चैत २५ देखि ०७९ वैशाख १८ गतेसम्म प्रदेशका हरेक जिल्लामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुन लागेको हो। जसमा १५ महिनादेखि १५ वर्षसम्मका १७ लाख ८७ हजार ७१० जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइनेछ।4 

जनकपुरधाममा प्रदेशस्तरीय सञ्चारकर्मीको गोष्ठीमा स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका निर्देशक विजयकुमार झाले नेपाल सरकारको लक्ष्यअनुसार देशव्यापी रूपमा टाइफाइडविरुद्ध खोप अभियान सञ्चालन गर्न लागेको बताए।

टाइफाइड दूषित पानी र खानेकुराबाटै संक्रमण हुने रोग भएकाले बेलैमा सचेत रहन तथा टाइफाइडबाट बालबालिकालाई खोप अभियान चलाउने तयारी गरिएको उनले बताए।

टाइफाइड विरुद्धको खोप स्कुलस्तरमै खोप टोली परिचालन गरेर १५ वर्षसम्मका बालबालिकालाई दिइने बताए। मधेस प्रदेशमा सप्तरीमा १५ महिनादेखि ४ वर्षसम्मका ३६ हजार ३६७ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ४३ हजार ७४२, सिरहामा १५ महिनादेखि ४ वर्षसम्मका ४२ हजार ३६९ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ६२ हजार ५५२, धनुषामा १५ महिनादेखि ४ वर्षसम्मका ४३ हजार ९९६ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ७४ हजार १९७ र महोत्तरीमा १५ महिनादेखि ४ वर्षसम्मका ४८ हजार ३४९ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ७४ हजार ८०६ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइनेछ।

त्यस्तै, सर्लाहीमा १५ महिनादेखि ४ वर्षसम्मका ५५ हजार ३६९ र ४ वर्षदेखि १५ वर्षसम्मका २ लाख ८ हजार १७२, रौतहटमा १५ महिनादेखि ४ वर्षसम्मका ५५ हजार ८१२ र ४ वर्षदेखि १५ वर्षसम्मका २ लाख ३०७, बारामा १५ महिनादेखि ४ वर्षसम्मका ५० हजार ९२७ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ९० हजार ७८२ एवं पर्सा जिल्लामा १५ महिनादेखि ४ वर्षसम्मका ४० हजार ७५१ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ५९ हजार २१२ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइनेछ।

४ वर्षमुनिका ३ लाख ७३ हजार ९४० र ४ देखि १५ वर्ष उमेर समूहका १४ लाख १३ हजार ७७० बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?