कुर्था–जयनगर रेल सेवा:पहिलो दिन साधारण र एसी दुवैतर्फ यात्रु भरिभराउ
4 वर्ष पहिले प्रकाशित
२०७८ चैत २१ गते । जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गर्नुभएको थियो ।
आइतबार बिहान साढे ८ बजे हिँडेको रेल जनकपुर स्टेशनमा झण्डै सवा दश बजे आइपुगेको थियो । पहिलो दिन जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म पुगेको रेलमा साधारण र एसी दुवैतर्फ यात्रु भरिभराउ आएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिनुभयो । निर्धारित समय तालिकाअनुसार नै नियमित रेल चल्न थालेको उहाँको भनाइ छ । उहाँका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ । जयनगरबाट बिहानको साढे ८ र दिउँसोको ३ बजे छुट्नेछ भने कुर्थाबाट बिहानको साढे दश र साँझको सवा पाँच बजे अर्को रेल छुट्ने उहाँले जानकारी दिनुभयो ।
लामो समयदेखि रेल चल्ने सुने पनि थन्किएको रेल देख्दै आएका धनुषावासी नियमित सञ्चालित रेल देखेर दङ्ग भएका छन् । स्थानीय युवा सञ्जय झा रेल नियमितरुपमा चल्न थाल्दा अबको केही वर्षमा नै जनकपुर र आसपासका ठाउँको अवस्था बदलिने आशा व्यक्त गर्नुभयो । रेल सेवा सुरु भएसंगै यहाँको पर्यटन, धार्मिक क्षेत्रको विकास हुने र स्थानीय उत्पादनको निर्यात बढ्ने उहाँको विश्वास छ । उहाँले भन्नुभयो, “हामीले आफ्नै ठाउँमा केही गर्छुभन्दा पनि अवसर मिल्ने देखिन्छ ।
कमेन्ट गर्नुहोस्
view comments