तलाकको निवेदन फिर्ता लिएपछि गोविन्दाका व्यवस्थापकको प्रश्न– ‘फिर्ता लिनु नै थियो भने मुद्दा किन दायर गरियो?’

1 घन्टा पहिले प्रकाशित

एजेन्सी, भाद्र ४ गते । बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनीता आहूजाले पतिविरुद्ध दायर गरेको तलाकको निवेदन फिर्ता लिएपछि गोविन्दाका व्यवस्थापक शशि सिन्हाले खुसी व्यक्त गर्दै निवेदन दायर गर्नुको औचित्यमाथि प्रश्न उठाएका छन्।

सुनीता बुधबार छोरा यशवर्धन आहूजा र वकिलसँगै पारिवारिक अदालत पुगेकी थिइन्। त्यस क्रममा उनले तलाकको निवेदन फिर्ता लिएको बताइएको छ। पछिल्लो केही समयदेखि गोविन्दा र सुनीताको वैवाहिक सम्बन्धमा खटपट रहेको चर्चा हुँदै आएको थियो।

व्यवस्थापक सिन्हाले घरभित्रका समस्या आपसी छलफलबाट समाधान गर्न सकिने भन्दै अदालतसम्म विषय पुर्‍याउनु आवश्यक नभएको टिप्पणी गरेका छन्। उनले निवेदन फिर्ता नै लिनुपर्ने अवस्था थियो भने सुरुमा दायर गर्नुको कारण के थियो भन्दै प्रश्न गरेका छन्।

गोविन्दा र सुनीताले सन् १९८७ मा विवाह गरेका थिए। उनीहरूका दुई सन्तान छन्। सुनीताले सन् २०२४ डिसेम्बरमा मुम्बईको पारिवारिक अदालतमा तलाकको निवेदन दायर गरेकी थिइन्। पछिल्लो समय दुवैलाई विभिन्न सार्वजनिक कार्यक्रममा सँगै देखिएपछि उनीहरूबीचको सम्बन्धमा सुधार आएको अनुमान गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?