सलमानको सुझावपछि ‘आलिया’बाट ‘कियारा’ बनिन्, आज बलिउडकी सफल अभिनेत्रीमध्ये एक

9 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण १८ गते ।  बलिउड अभिनेत्री कियारा आडवाणी आज उद्योगकी सबैभन्दा सफल र लोकप्रिय अभिनेत्रीमध्ये एक मानिन्छिन्। तर धेरैलाई थाहा नहुन सक्छ, उनको वास्तविक नाम आलिया आडवाणी थियो। अभिनेता सलमान खानको सुझावपछि उनले आफ्नो नाम परिवर्तन गरी ‘कियारा आडवाणी’ राखेकी थिइन्, जसले उनलाई बलिउडमा छुट्टै पहिचान बनाउन सहयोग गरेको बताइन्छ।

सन् २०१४ मा फिल्म ‘फग्ली’ बाट अभिनय यात्रा सुरु गरेकी कियाराले प्रारम्भिक असफलतापछि पनि निरन्तर संघर्ष गरिन्। सन् २०१६ मा आएको ‘एमएस धोनी: द अनटोल्ड स्टोरी’ मा साक्षी धोनीको भूमिका निभाएपछि उनले व्यापक चर्चा पाइन्। त्यसपछि ‘भारत अने नेनु’, ‘लस्ट स्टोरिज’, ‘कबीर सिंह’, ‘गुड न्यूज’, ‘शेरशाह’, ‘भूल भुलैया २’, ‘जुगजुग जियो’‘सत्यप्रेम की कथा’ जस्ता सफल फिल्ममार्फत उनी अग्रणी अभिनेत्रीको रूपमा स्थापित भइन्।

कियाराको जन्म ३१ जुलाई १९९१ मा मुम्बईमा भएको हो। फिल्म क्षेत्रमा आउनुअघि उनी आफ्नी आमाको प्रि–स्कुलमा बालबालिकालाई पढाउने गर्थिन्। उनले सन् २०२३ फेब्रुअरी ७ मा अभिनेता सिद्धार्थ मल्होत्रासँग विवाह गरेकी थिइन्। अहिले दुवै एक छोरीका अभिभावक हुन् भने कियारा आगामी दिनमा पनि धेरै ठूला चलचित्रमा देखिने तयारीमा छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?