‘रामायण’ ट्रेलरको प्रशंसा गर्दै रामानन्द सागरका नातिले उठाए रणबीर कपूरको कास्टिङमाथि प्रश्न
9 घन्टा पहिले प्रकाशित
एजेन्सी, श्रावण १८ गते । निर्देशक नितेश तिवारीको बहुप्रतीक्षित फिल्म ‘रामायण’ को ट्रेलर सार्वजनिक भएपछि दर्शकमाझ व्यापक चर्चा भइरहेको छ। भव्य दृश्य, कलाकारहरूको प्रस्तुति र निर्माणस्तरको प्रशंसा भइरहेका बेला मूल ‘रामायण’ का निर्माता रामानन्द सागरका नाति शिव सागरले पनि ट्रेलरको खुलेर प्रशंसा गरेका छन्। तर उनले भगवान रामको भूमिकामा रणबीर कपूरको चयनलाई लिएर केही आशंका व्यक्त गरेका छन्।
शिव सागरले ट्रेलरले आफूलाई प्रभावित पारेको बताउँदै यश रावणको भूमिकामा प्रभावशाली देखिएको र साई पल्लवी सीताको पात्रमा उपयुक्त लागेको प्रतिक्रिया दिएका छन्। उनका अनुसार प्रारम्भिक प्रचार सामग्रीको तुलनामा ट्रेलरको दृश्य प्रभाव निकै उत्कृष्ट देखिएको छ। यद्यपि पौराणिक पात्रका लागि नयाँ अनुहारलाई प्राथमिकता दिनुपर्ने आफ्नो धारणा रहेको उल्लेख गर्दै उनले रणबीर कपूरलाई भगवान रामको रूपमा दर्शकले सहज रूपमा स्वीकार गर्ने आशा व्यक्त गरेका छन्।
दुई भागमा निर्माण भइरहेको यस फिल्ममा रणबीर कपूर राम, साई पल्लवी सीता, यश रावण, सन्नी देओल हनुमान, रवि दुबे लक्ष्मण तथा राकुल प्रीत सिंह शूर्पणखाको भूमिकामा छन्। सन् १९८७ को चर्चित ‘रामायण’मा भगवान रामको भूमिका निभाएका अरुण गोविल यस फिल्ममा राजा दशरथको भूमिकामा देखिनेछन्। जुलाई अन्तिममा सार्वजनिक गरिएको ट्रेलरमा अयोध्या, लंका, राम–सीता विवाह, वनवास र युद्धका भव्य दृश्य समेटिएका छन् भने फिल्म दिवाली २०२६ को अवसरमा प्रदर्शन हुने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments