गणतन्त्रविरुद्ध झुटप्रचार भइरहेको प्रचण्डको आरोप
14 घन्टा पहिले प्रकाशित
काठमाडौं, श्रावण ७ गते । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि हासिल भएका उपलब्धिविरुद्ध योजनाबद्ध रूपमा नकारात्मक प्रचार भइरहेको बताएका छन्। ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा चम्पादेवीमा आयोजित कार्यक्रममा उनले गणतन्त्र, परिवर्तन र विकासका उपलब्धिलाई अपमानित तथा अवमूल्यन गर्ने प्रयास भइरहेको दाबी गरे।
प्रचण्डले भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका प्रगतिमाथि झुटप्रचार भइरहेको उल्लेख गर्दै त्यसविरुद्ध नयाँ अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले कम्युनिस्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठले सामन्तवाद र साम्राज्यवादविरुद्ध वैचारिक तथा राजनीतिक आधार निर्माणमा ऐतिहासिक योगदान दिएको स्मरण गर्दै नेपालमा कम्युनिस्ट आन्दोलनलाई स्थापित गर्न उनको भूमिका आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।
कमेन्ट गर्नुहोस्
view comments