छात्र आन्दोलनलाई लिएर धर्मेन्द्र प्रधान–राहुल गान्धीबीच आरोप–प्रत्यारोप

15 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण ६ गते ।  नीट (NEET) परीक्षा प्रश्नपत्र चुहावट प्रकरण र शिक्षा मन्त्रीको राजीनामा माग गर्दै भइरहेको विद्यार्थी आन्दोलन राजनीतिक रूपमा थप चर्किएको छ। प्रधानमन्त्री निवासअगाडि कांग्रेसको प्रदर्शनपछि केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राहुल गान्धी र कांग्रेसमाथि विद्यार्थीको मुद्दालाई राजनीतिक हतियार बनाएको आरोप लगाएका छन्।

प्रधानले सामाजिक सञ्जाल एक्समार्फत सरकारले संसदमा NEET लगायत विद्यार्थीका सबै विषयमा विस्तृत छलफल गर्न तयार हुँदाहुँदै कांग्रेसले राजनीतिक प्रदर्शन रोजेको दाबी गरेका छन्। उनले प्रधानमन्त्री निवासअगाडि गरिएको धर्नाले सुरक्षा मापदण्ड उल्लङ्घन गरेको र सर्वसाधारणलाई असुविधा पुगेको पनि उल्लेख गरेका छन्। उनका अनुसार सरकारले युवाका जायज चासो सम्बोधन गर्न, आवश्यक सुधार गर्न र जवाफदेहिता सुनिश्चित गर्न प्रतिबद्ध रहेको छ।

यता, कांग्रेसले प्रधानको आरोप अस्वीकार गर्दै प्रतिउत्तर दिएको छ। कांग्रेस नेता पवन खेडाले धर्मेन्द्र प्रधानको पोस्ट साझा गर्दै "भाषण होइन, राजीनामा देऊ" भन्ने प्रतिक्रिया दिएका छन्। यसअघि विद्यार्थीमाथि भएको प्रहरी कारबाहीको विरोधमा राहुल गान्धी, मल्लिकार्जुन खड्गे, प्रियंका गान्धी वाड्रा, अखिलेश यादवलगायत विपक्षी नेताहरू प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका थिए। पछि दिल्ली प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर केही समयपछि रिहा गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?