११ वर्षको उमेरमै पवन सिंहले गाएका थिए पहिलो भोजपुरी गीत, ‘ओढनिया वाली’ ले मच्चाएको थियो तहल्का

14 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार २९ गते ।  भोजपुरी संगीतका चर्चित गायक तथा अभिनेता पवन सिंहले बाल्यकालमै आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए। ‘पावर स्टार’ का रूपमा परिचित पवन सिंहले ११ वर्षको उमेरमा आफ्नो पहिलो भोजपुरी गीत गाएका थिए, जसले त्यतिबेला संगीत बजारमा निकै चर्चा पाएको थियो।

पवन सिंहको पहिलो गीत ‘ओढनिया वाली’ सन् १९९७ मा सार्वजनिक भएको थियो। उक्त गीतमा पवन सिंहको स्वरका साथै संगीतमा पनि उनको योगदान रहेको थियो। गीतका शब्द अशोक शिवपुरीले लेखेका थिए भने संगीत अजीत सिंह र पवन सिंहले दिएका थिए। गीतको भिडियोमा बाल्यकालका पवन सिंहलाई देख्न सकिन्छ, जसलाई अहिलेका धेरै प्रशंसकले चिन्नसमेत गाह्रो हुने बताएका छन्।

यो गीत अहिले पनि दर्शकमाझ लोकप्रिय रहेको छ। सामाजिक सञ्जालमा प्रशंसकहरूले पवन सिंहको संघर्ष र सफलताको प्रशंसा गर्दै बाल्यकालमै उनको प्रतिभा देखिएको टिप्पणी गरेका छन्। एक प्रशंसकले लेखेका छन्, “११ वर्षको उमेरमै यस्तो कमाल गरेका थिए।”

पवन सिंहले आफ्नो करियरको सुरुवात निकै सामान्य अवस्थाबाट गरेका थिए। गाउँमा गीत गाउँदा उनलाई सुरुमा १० रुपैयाँसम्म पारिश्रमिक मिल्ने गरेको बताइन्छ। पछि उनले भोजपुरी संगीत क्षेत्रमा ठूलो सफलता हासिल गर्दै लाखौँ दर्शकको मन जित्न सफल भए।

‘ललिपप लागेलु’, ‘छलकता हमरो जवानीया’, ‘रात दिया बुताके’ लगायतका उनका गीतहरू अत्यधिक लोकप्रिय भएका छन्। भोजपुरी फिल्म र संगीत क्षेत्रमा पवन सिंहलाई सबैभन्दा चर्चित कलाकारमध्ये एक मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?