चेक बाउन्स मुद्दामा अभिनेता राजपाल यादवलाई झट्का, दिल्ली उच्च अदालतले ३ महिनाको जेल सजाय कायम राख्यो
7 घन्टा पहिले प्रकाशित
एजेन्सी, असार २६ गते । बलिउड अभिनेता राजपाल यादव लाई चेक बाउन्स मुद्दामा ठूलो कानुनी झट्का लागेको छ। दिल्ली उच्च अदालत ले शुक्रबार उनको तीन महिनाको जेल सजायलाई यथावत् राख्दै पुनः जेल पठाउन आदेश दिएको हो। अदालतले यादवले बारम्बार गरेको प्रतिबद्धता पूरा नगरेको र उनको व्यवहार ‘सन्देहास्पद’ देखिएको उल्लेख गरेको छ।
यो मुद्दा सन् २०१० मा उनले आफ्नो निर्देशकीय फिल्म अता पता लापता निर्माणका लागि मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडबाट लिएको ५ करोड भारतीय रुपैयाँ ऋणसँग सम्बन्धित हो। फिल्म असफल भएपछि उनले समयमै ऋण तिर्न नसकेको र कम्पनीलाई दिएका चेक बाउन्स भएपछि मुद्दा अदालत पुगेको थियो। सन् २०१८ मा मजिस्ट्रेट अदालतले राजपाल यादव र उनकी पत्नीलाई दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाएको थियो, जसलाई पछि सेसन अदालतले पनि सदर गरेको थियो।
उच्च अदालतले सन् २०२४ मा सजाय अस्थायी रूपमा स्थगित गर्दै बक्यौता रकम तिर्न अवसर दिएको थियो। तर अदालतका अनुसार यादवले पटक–पटक गरेको वाचा पूरा गर्न नसकेपछि फेब्रुअरी २०२६ मा आत्मसमर्पण गर्न आदेश दिइएको थियो। अदालतले विवाद समाधानका लागि पटक–पटक मेलमिलापको प्रयास गरे पनि दुवै पक्षबीच सहमति हुन नसकेपछि अन्ततः जेल सजायलाई कायम राख्ने निर्णय गरेको हो।
कमेन्ट गर्नुहोस्
view comments