चेक बाउन्स प्रकरणमा राजपाल यादवको समस्या बढ्यो, फिल्म निर्माताले दायर गरे नयाँ मुद्दा

11 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार २१ गते । बलिउड अभिनेता राजपाल यादवको कानुनी समस्या झन् बढेको छ। चेक बाउन्ससम्बन्धी एक मुद्दाका कारण केही समयअघि कानुनी झमेलामा परेका उनीविरुद्ध अब फिल्म निर्माता तथा प्रियंका चोप्राका पूर्व व्यवस्थापक प्रकाश जाजूले अर्को मुद्दा दायर गरेका छन्। जाजूले राजपाल यादवसँगै फिल्म निर्माता महेन्द्र धारीवाल र सोहेल मकलईविरुद्ध पनि उजुरी दिएका छन्। मध्य प्रदेशको डा. अम्बेडकर नगरस्थित न्यायिक मजिस्ट्रेट प्रथम श्रेणी अदालतले तीनै जनालाई समन जारी गर्दै २०२६ सेप्टेम्बर ११ मा अदालतमा उपस्थित हुन आदेश दिएको छ। उजुरीअनुसार राजपाल यादवले जारी गरेको ५ लाख भारतीय रुपैयाँको चेक बैंकमा पेश गर्दा बाउन्स भएको थियो।

प्रकाश जाजूका अनुसार उनले तीनै जनालाई ऋण दिएका थिए र सुरक्षाका रूपमा चेक लिएका थिए। तर ऋण फिर्ता नभएपछि चेक बैंकमा बुझाउँदा ती चेक बाउन्स भएका हुन्। जाजूले महेन्द्र धारीवालबाट ५० लाख, राजपाल यादवबाट २५ लाख र सोहेल मकलईबाट ४० लाख भारतीय रुपैयाँ लिन बाँकी रहेको दाबी गरेका छन्। यसैबीच, व्यवसायी अंकित चन्दीरमानीले पनि सोहेल मकलईबाट ७ लाख रुपैयाँ लिन बाँकी रहेको बताउँदै आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउने संकेत दिएका छन्। यस घटनापछि बलिउड क्षेत्रमा आर्थिक लेनदेन र चेक बाउन्ससम्बन्धी विषय पुनः चर्चामा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?