दरभंगा विमानस्थलमा अवतरणका क्रममा स्पाइसजेट विमानको टायर फुट्यो, ठूलो दुर्घटना टर्‍यो

13 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार १६ गते ।  मुम्बईबाट दरभंगा आएको स्पाइसजेटको एसजी–११५ उडानको विमान सोमबार अवतरणका क्रममा टायर फुटेपछि केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको छ। विमानस्थल स्रोतका अनुसार रनवेमा अवतरण गरेलगत्तै टायर फुट्दा विमान केही दूरीसम्म घिस्रिँदै गएको थियो, जसका कारण विमानभित्र रहेका करिब १५० यात्रुले तीव्र झट्का महसुस गरेका थिए। यद्यपि पाइलटले संयमता अपनाउँदै विमानलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर रनवेमा रोकेपछि सम्भावित ठूलो दुर्घटना टरेको बताइएको छ।

घटनामा केही यात्रु सामान्य घाइते भएका छन् भने विमानलाई प्राविधिक परीक्षणका लागि विमानस्थलमै रोकिएको थियो। कम्पनीका इन्जिनियरहरूले घटनाको अनुसन्धान गरेपछि दिल्लीबाट नयाँ टायर मगाएर साँझ पुनः उडान सञ्चालन गरिएको जनाइएको छ। यसैबीच, मुम्बई–दरभंगा रुटमा सञ्चालन हुने अकासा एयरको अर्को विमानमा पनि प्राविधिक समस्या देखिएपछि त्यस दिनको उडान रद्द गरिएको थियो। यी दुई घटनाका कारण दरभंगा विमानस्थलमा केही समय पार्किङ र उडान व्यवस्थापनमा समस्या उत्पन्न भएको थियो। त्यसकै कारण दिल्लीबाट आएको इन्डिगोको एक उडानलाई केहीबेर आकाशमा होल्ड गरिएपछि अन्ततः पटना विमानस्थलमा अवतरण गराइएको थियो। पछि अवस्था सामान्य भएपछि उक्त विमान दरभंगा ल्याएर नियमित उडान सञ्चालन गरिएको विमानस्थल प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?