१८ संशोधनपछि ‘वेलकम टु द जंगल’लाई प्रदर्शन अनुमति
1 दिन पहिले प्रकाशित
एजेन्सी, असार १० गते । भारतीय अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘वेलकम टु द जंगल’ ले १८ वटा संशोधन तथा कटौतीपछि प्रदर्शन अनुमति पाएको छ। भारतीय केन्द्रीय चलचित्र प्रमाणन बोर्ड (सीबीएफसी)ले फिल्मलाई ‘यूए १६ प्लस’ प्रमाणपत्र प्रदान गर्दै प्रदर्शनका लागि स्वीकृति दिएको हो। आगामी जुन २६ (असार १२) देखि प्रदर्शनको तयारीमा रहेको फिल्मको रनटाइम २ घण्टा ४४ मिनेट निर्धारण गरिएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार सेन्सर बोर्डले केही संवाद, शब्द तथा सन्दर्भहरू हटाउन वा परिवर्तन गर्न निर्देशन दिएको थियो। कश्मीरसँग सम्बन्धित उल्लेख, ‘गोरखा रेजिमेन्ट’ जस्ता शब्द तथा केही आपत्तिजनक संवादहरू संशोधन गरिएका छन्। साथै अभिनेत्री दिशा पटानी र ज्याकलिन फर्नान्डिजका केही बिकिनी दृश्य, महिलाको शरीरका क्लोजअप शट, गीतमा रहेका केही हाउभाउ तथा अशोभनीय मानिएका संकेतहरू पनि हटाइएको वा अन्य दृश्यले प्रतिस्थापन गरिएको बताइएको छ। अहमद खान निर्देशित यस फिल्ममा अक्षय कुमारसँगै सुनील शेट्टी, अर्शद वारसी, ज्याकी श्राफ, परेश रावल, रविना टण्डन, दिशा पटानी र ज्याकलिन फर्नान्डिजलगायत कलाकारको अभिनय रहेको छ। लोकप्रिय ‘वेलकम’ शृंखलाको तेस्रो संस्करणका रूपमा रहेको यो फिल्म नेपालका सिनेमा हलहरूमा पनि प्रदर्शन हुने तयारीमा छ।
कमेन्ट गर्नुहोस्
view comments