‘धुरन्धर’पछि रणवीर सिंह बने भारतका सबैभन्दा महँगा अभिनेता ?
13 घन्टा पहिले प्रकाशित
एजेन्सी, असार ९ गते । अभिनेता रणवीर सिंह फिल्म ‘धुरन्धर’ को सफलतापछि भारतका सबैभन्दा महँगा अभिनेता बनेको दाबी गरिएको छ। भारतीय सञ्चारमाध्यमहरूको रिपोर्टअनुसार रणवीरले फिल्मका दुई भागबाट करिब ३२५ करोड भारतीय रुपैयाँ आम्दानी गरेका छन्। उनले परम्परागत पारिश्रमिक लिनुको सट्टा निर्मातासँग नाफा बाँडफाँडको सम्झौता गरेको र फिल्मको बजेट बढेपछि व्यक्तिगत लगानीसमेत गरेको बताइएको छ।
रिपोर्टका अनुसार ‘धुरन्धर’ का दुई भागले विश्वभर करिब ३१०० करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेका छन् भने भारतमा मात्र १९०० करोड रुपैयाँभन्दा बढी नेट कमाइ गरेको दाबी गरिएको छ। सोही आधारमा थिएट्रिकल, डिजिटल, स्याटेलाइट तथा म्युजिक राइट्सबाट प्राप्त आम्दानीको हिस्सा स्वरूप रणवीरले ३२५ करोड रुपैयाँ हाराहारी प्राप्त गरेको उल्लेख गरिएको छ। यद्यपि यस सम्बन्धमा कुनै आधिकारिक पुष्टि भने भएको छैन।
यसअघि सबैभन्दा बढी आम्दानी गर्ने अभिनेताको सूचीमा दक्षिण भारतीय सुपरस्टार रजनीकान्त अग्रस्थानमा रहेको चर्चा थियो। उनले फिल्म ‘जेलर’ बाट करिब २५० करोड भारतीय रुपैयाँ आम्दानी गरेको बताइएको थियो। शाहरुख खान, अल्लु अर्जुन र प्रभासले पनि २०० करोड रुपैयाँभन्दा बढी पारिश्रमिक वा आम्दानी गरेको चर्चा हुँदै आएको छ। भारतीय फिल्म उद्योगमा कलाकारहरूको पारिश्रमिक निरन्तर बढ्दै गएको अवस्थामा रणवीर सिंहले ३२५ करोड रुपैयाँ कमाएको दाबीले नयाँ कीर्तिमान कायम गरेको बताइएको छ।
कमेन्ट गर्नुहोस्
view comments