‘रामायण’ शूटिंगका दर्दनाक किस्सा: ज्यान जोगाएर भाग्नुपरेको र ५० डिग्री तापक्रममा छालासम्म जलेको घटना

3 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार १ गते ।  रामानन्द सागर निर्देशित ऐतिहासिक टेलिशृंखला ‘रामायण’ को छायांकनका क्रममा कलाकारहरूले धेरै कठिन र कहिलेकाहीँ खतरनाक अनुभवसमेत भोग्नुपरेको खुलासा गरिएको छ। करिब ३९ वर्षअघि बनेको यो धारावाहिक आजसम्म पनि दर्शकहरूको मनमा अमिट छाप छोड्न सफल मानिन्छ। तर यसको पर्दापछाडिको यात्रा सजिलो थिएन। छायांकनका क्रममा राम, सीता र लक्ष्मणको भूमिका निर्वाह गर्ने कलाकारहरू एक पटक ज्यान जोगाएर सेट छोडेर भाग्नुपरेको घटना समेत भएको थियो।

अभिनेता अरुण गोविल, दीपिका चिखलिया र सुनील लहरीले नर्मदा नदी किनारमा चलिरहेको एक दृश्य छायांकन गर्दा सेटमा ठूलो विषालु सर्प देखिएपछि सम्पूर्ण टोली तत्कालै सुरक्षित स्थानमा सारिएको थियो। त्यस्तै, अर्को घटनामा गुजरातको अत्यधिक गर्मी (झन्डै ५० डिग्री सेल्सियस) मा नाङ्गो खुट्टा बालुवामा लामो दूरीसम्म हिँडेर छायांकन गर्नुपर्दा कलाकारहरूको शरीरमा गम्भीर फोका उठेको र छाला जलेर धेरै दिनसम्म पीडा भएको बताइन्छ। कलाकार सुनील लहरीका अनुसार धेरै दिनसम्म नुहाउँदा समेत शरीरमा जलन हुने अवस्था थियो र छाला उप्किने समस्या लामो समयसम्म रह्यो।

यी कठिन परिस्थितिहरूका बावजुद ‘रामायण’ को छायांकन करिब तीन वर्षमा पूरा गरिएको थियो। सीमित प्रविधि र VFX बिना नै निर्माण गरिएको यो श्रृंखलालाई आज पनि भारतीय टेलिभिजन इतिहासको सबैभन्दा प्रभावशाली धार्मिक कार्यक्रममध्ये एक मानिन्छ, जसले विश्वभर करोडौँ दर्शकको मन जित्न सफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?