सर्पदंशपछि जनकपुरका २५ वर्षीय युवकको मृत्यु
15 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असोज १५ गते । जनकपुरधाम उपमहानगरपालिका–१४, मुजेलियाका २५ वर्षीय महेश यादवको सर्पदंशपछि उपचारका क्रममा मृत्यु भएको छ। रामकिशोर यादवका एक्ला छोरा महेशलाई मंगलबार राति करिब साढे १२ बजे विषालु सर्पले टोकेको परिवारले जनाएको छ। सर्पले टोकेलगत्तै उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो। उपचारका क्रममा स्वास्थ्य अवस्था गम्भीर बनेपछि राति करिब २ बजे चिकित्सकले आईसीयू वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बताएको परिवारको भनाइ छ। तर ती सुविधा खाली नभएको भन्दै थप उपचारका लागि बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा रेफर गरिएको परिवारले जनाएको छ।
बर्दिबासस्थित सर्पदंश उपचार केन्द्र पुर्याएपछि चिकित्सकले महेशलाई मृत घोषणा गरेको परिवारले जनाएको छ। घटनापछि मृतकका परिवार तथा स्थानीयले प्रादेशिक अस्पताल जनकपुरधाममा आईसीयू, भेन्टिलेटरलगायत अत्यावश्यक उपचार सुविधा र जनशक्तिको अवस्थाबारे प्रश्न उठाएका छन्। यद्यपि, महेशको मृत्युको प्रत्यक्ष चिकित्सकीय कारण तथा उनलाई रेफर गर्ने निर्णयको आधारबारे प्रादेशिक अस्पतालको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।
कमेन्ट गर्नुहोस्
view comments