लोककल्याणकारी विज्ञापनको बजेट कटौती नगर्न मधेश सरकारसँग पत्रकार महासंघको माग

11 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज १३ गते । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले सञ्चार माध्यमका लागि विनियोजित लोककल्याणकारी विज्ञापनको बजेट कटौती नगर्न मधेश प्रदेश सरकारसँग माग गरेको छ। महासंघले मंगलबार अर्थमन्त्री युवराज भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै सञ्चार क्षेत्र आर्थिक संकटमा रहेका बेला विज्ञापनको बजेट कटौती गर्दा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चार माध्यम थप प्रभावित हुने जनाएको हो। चालु आर्थिक वर्षमा आमसञ्चार प्राधिकरणमार्फत लोककल्याणकारी विज्ञापनका लागि बजेट शीर्षक २२५२२ मा ७० लाख रुपैयाँ विनियोजन गरिएकोमा वित्तीय समायोजनका नाममा ५० प्रतिशत रकम रोक्का गरिएको र अब ३५ लाख रुपैयाँ मात्रै खर्च गर्न सकिने अवस्था रहेको महासंघले जनाएको छ। मधेश प्रदेशको आमसञ्चार प्राधिकरणले लोककल्याणकारी विज्ञापनसम्बन्धी सेवा तथा भुक्तानी प्रक्रिया सञ्चालन गर्दै आएको छ।

महासंघले रोक्का गरिएको ५० प्रतिशत रकम फुकुवा गरी विनियोजित ७० लाख रुपैयाँ नै पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरेको छ। साथै पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि स्थापित मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणलाई प्रभावकारी बनाउन विनियोजित बजेट कटौती नगरी आवश्यकताअनुसार थप बजेट व्यवस्था गर्न आग्रह गरेको छ। महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाडेले सञ्चार माध्यमलाई राज्यको चौथो अंगका रूपमा मात्र चर्चा नगरी यसको संस्थागत तथा आर्थिक सबलीकरणका लागि सरकारले व्यवहारमै सहयोग गर्नुपर्ने बताए। यसअघि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पनि लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी अभियान तथा आन्दोलन अघि बढाउने निर्णय गरिसकेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?