जनकपुरधाममा ११ दिन सस्तो बजार सञ्चालन हुने

15 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज १३ गते । बडादशैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघले यस वर्ष पनि गोपाल धर्मशालामा सस्तो बजार सञ्चालन गर्ने भएको छ। संघका अनुसार असोज २४ गतेदेखि कात्तिक ४ गतेसम्म ११ दिन बजार सञ्चालन हुनेछ। विगतका वर्षमा सीमित दिन सञ्चालन हुँदै आएको बजारलाई यस वर्ष घटस्थापनादेखि दशमीसम्म निरन्तरता दिन लागिएको हो। चाडपर्वका समयमा उपभोक्ताको चाप र दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले सहज आपूर्ति तथा सुपथ मूल्यमा सामग्री उपलब्ध गराउने उद्देश्यले सस्तो बजार सञ्चालन गर्न लागिएको संघले जनाएको छ।

सस्तो बजारलाई व्यवस्थित रूपमा सञ्चालन गर्न संघले आपूर्ति तथा अनुगमन, प्रचारप्रसार, स्टल व्यवस्थापन, गुणस्तर तथा मूल्य निर्धारणलगायतका उपसमिति गठन गरेको छ। आपूर्ति तथा अनुगमन उपसमितिको संयोजकमा सहायक प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था गरिएको छ भने समितिमा संघका पदाधिकारी तथा सदस्यसँगै स्थानीय प्रशासन, सरकारी तथा सम्बन्धित व्यावसायिक निकायका प्रतिनिधि सहभागी हुनेछन्। संघले उपभोक्ताले सुपथ मूल्यमा आवश्यक सामग्री सहज रूपमा प्राप्त गर्ने वातावरण बनाउन बजार व्यवस्थापनमा विशेष ध्यान दिने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?