जनकपुरधाममा गाईवस्तु (पशुचौपाया) व्यवस्थापन एउटा चुनौती

17 घन्टा पहिले प्रकाशित

संतोष कुमार मिश्र

जनकपुरधाम, असोज १३ गते । जनकपुरधाम धार्मिक, सांस्कृतिकको शहरमा गाईवस्तु (पशुचौपाया) व्यवस्थापन एउटा चुनौती नै बनेका छन् । हुनत् हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र र मिथिला संस्कृतिको शहर जनकपुरधाममा गाईवस्तु पाल्ने परम्परा ऐतिहासिक समयदेखि नै चल्दै आएको छ । तर त्यही गाईवस्तु (पशुचौपाया) व्यवस्थित रूपमा नराख्दा र सडकमा छाडा छाड्दा निम्तिने दुर्घटनाको जोखिम अत्यन्तै उच्च र संवेदनशील समस्या बनेको छ । बजार क्षेत्र र राजमार्गहरूमा यस्ता पशुहरूका कारण दिनहुँ साना–ठूला दुर्घटनाहरू भइरहेका हुन्छन् । त्यती मात्रै नभई रोकिएको र पार्किङ्ग गरिएको मोटरसाईकल देखि चार पाङ्गे गाडीलाई समेत क्षति पु¥याउने गर्छन् । विशेषगरी भित्री बजारका साँघुरा सडकहरूमा अचानक गाईवस्तु आइपुग्दा दुईपाङ्ग्रे (मोटरसाइकल, स्कुटर) र चारपाङ्ग्रे सवारी साधनहरू ठोक्किएर गम्भीर दुर्घटना हुने गर्दछ । रातिको समयमा सडक बत्तीको उचित व्यवस्था नभएका ठाउँमा वा तीव्र गतिमा गुड्ने सवारी साधनले सडकको बीचमा बसिरहेका वा हिँडिरहेका गाईवस्तुलाई टाढैबाट नदेख्दा भयानक दुर्घटनाहरू हुने गरेका छन् र कहिलेकाहीँ पशुहरू आपसमा जुध्दा सर्वसाधारण देखि पार्किङ्ग गरिएका गाडीहरुमा समेत क्षति हुने गरेका छन् ।

बजार क्षेत्र, मन्दिर वरपर र ऐतिहासिक पोखरीका डिलहरूमा छाडा पशुहरूको बथानका कारण पैदलयात्री, वृद्धवृद्धा र बालबालिकाहरूलाई हिँडडुल गर्न निकै असुरक्षित हुन्छ । जनकपुरधाम उपमहानगरपालिका तथा ट्राफिक प्रहरीले छाडा चौपायालाई नियन्त्रणमा लिई व्यवस्थित ठाउँमा राख्ने, पशुधनी पहिचान गरी कडा जरिवाना गर्ने र रातिको समयमा पशुहरूको गलामा रिफ्लेक्टिभ बेल्ट (चम्किलो पट्टी) बाँध्ने जस्ता केही सुधारात्मक प्रयासहरू अघि बढाए पनि त्यो गम्भीर रुपमा चाँही लागु हुन सकेको छैन् । जसले गर्दा दुर्घटना हुने जोखिम तथा पार्किङ्ग गरिएका गाडीहरुमा समेत क्षति हुने सम्भावना बढेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?