विश्व पर्यटन दिवसमा जनकपुरमा पर्यटकको स्वागतदेखि सरसफाइसम्म

10 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज ११ गते ।  विश्व पर्यटन दिवसको अवसरमा जनकपुरधाममा विभिन्न कार्यक्रम आयोजना गरी पर्यटन प्रवर्द्धन तथा पर्यटक स्वागत गरिएको छ। हरेक वर्ष सेप्टेम्बर २७ मा मनाइने विश्व पर्यटन दिवस यस वर्ष पनि जनकपुरधाममा पर्यटन व्यवसायी तथा सम्बन्धित संस्थाहरूको संयुक्त आयोजनामा विविध कार्यक्रमसहित मनाइएको हो।

विश्व पर्यटन दिवसका अवसरमा होटल तथा पर्यटन व्यवसायी संघ धनुषा, होटल संघ नेपाल मधेस प्रदेश तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) मधेस प्रदेशले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका हुन्। कार्यक्रममा जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकको स्वागत, सम्मान तथा सरसफाइसम्बन्धी गतिविधि सञ्चालन गरिएको आयोजकहरूले बताएका छन्।

कार्यक्रमअन्तर्गत आइतबार जनकपुर विमानस्थलमा बुद्ध एयरको विमानबाट जनकपुरधाम आएका ७२ जना यात्रुलाई स्वागत गरिएको थियो। होटल तथा पर्यटन व्यवसायी संघ धनुषाका अध्यक्ष रुपेश सिंह, वरिष्ठ उपाध्यक्ष सन्तोष गुप्ता, सचिव सुनिल साह, कोषाध्यक्ष अमित ठाकुर, कार्यसमिति सदस्य सुनैना ठाकुर, रवि गुप्तालगायत पर्यटन व्यवसायी तथा प्रतिनिधिहरू विमानस्थल पुगेर यात्रुलाई माला, अबिर, मिठाई तथा खाद्य सामग्री प्रदान गर्दै स्वागत गरेका थिए।

पर्यटन दिवसकै अवसरमा आयोजक टोलीले नेपाल–भारत सीमास्थित जटही नाकामा पनि पर्यटक स्वागत कार्यक्रम गरेको थियो। भारतबाट नेपाल प्रवेश गरेका भारतीय पर्यटकलाई जटही नाकामा स्वागत गर्दै जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वबारे जानकारी गराइएको थियो। जनकपुरधाममा आउने भारतीय पर्यटकको संख्या बढाउन सीमा क्षेत्रमा गरिने यस्ता स्वागत कार्यक्रमले सकारात्मक सन्देश दिने आयोजकहरूको भनाइ छ।

यसैगरी, विश्व पर्यटन दिवसकै अवसरमा जनकपुरधामको हनुमाननगरस्थित हनुमान मन्दिर परिसरमा सरसफाइ कार्यक्रमसमेत आयोजना गरिएको थियो। जनकपुरधाम प्रवेश गर्ने प्रमुख मार्गमा अवस्थित उक्त धार्मिक स्थलको सरसफाइ गर्दै पर्यटन गन्तव्यलाई स्वच्छ, सफा र आकर्षक बनाउन सरोकारवालाहरूले जोड दिएका थिए।

सरसफाइ कार्यक्रममा मन्दिरका महन्तलगायत धार्मिक व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो। धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षणसँगै सरसफाइ र व्यवस्थापनमा ध्यान दिन सके जनकपुरधाममा आउने पर्यटकको अनुभव थप सहज र सकारात्मक बन्ने आयोजकहरूको धारणा थियो।

जनकपुरधाम धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छ। जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिरलगायतका धार्मिक तथा सांस्कृतिक सम्पदाका कारण यहाँ नेपालका विभिन्न क्षेत्रसँगै भारतबाट समेत पर्यटक तथा श्रद्धालु आउने गरेका छन्। विश्व पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रमले जनकपुरधामको पर्यटन सम्भावना उजागर गर्नुका साथै पर्यटक स्वागत, धार्मिक स्थलको संरक्षण र स्वच्छ पर्यटन गन्तव्य निर्माणको आवश्यकता पनि औँल्याएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?