जगन्नाथ मन्दिरमा ‘सुनाबेशा’का लागि नयाँ गहना बनाइने

16 घन्टा पहिले प्रकाशित

एजेन्सी, असोज ११ गते । भारतको ओडिसास्थित प्रसिद्ध श्रीजगन्नाथ मन्दिरमा भगवान् जगन्नाथ, भगवान् बलभद्र र देवी सुभद्राको ‘सुनाबेशा’ श्रृंगारका लागि नयाँ गहना तयार गरिने भएको छ। श्रीजगन्नाथ मन्दिर व्यवस्थापन समितिले गजपति महाराजा दिव्यसिंह देवको अध्यक्षतामा बसेको बैठकबाट नयाँ गहना बनाउने प्रस्ताव स्वीकृत गरेको हो। मन्दिर प्रशासनका मुख्य प्रशासक अरविन्द पाढीका अनुसार नयाँ गहना मन्दिर प्रशासनकै स्रोतबाट तयार गरिनेछ भने इच्छुक व्यक्ति तथा संस्थाबाट सहयोगसमेत लिइनेछ। हाल रहेका गहनाको डिजाइन, तौल र अन्य विवरण सुरक्षित रहेकाले नयाँ गहना तयार गर्न सहज हुने प्रशासनले जनाएको छ। रत्न भण्डारको सूचीकरणका क्रममा पुराना गहनाको भिडियो अभिलेख र त्रिआयामिक नक्सांकनसमेत गरिएको थियो।

नयाँ गहना निर्माणको प्रक्रिया अनुगमन गर्न प्राविधिक समिति गठन गरिने र सो समितिले दक्ष सुनार छनोट गर्ने जनाइएको छ। ‘सुनाबेशा’ भगवान् जगन्नाथ, बलभद्र र सुभद्रालाई सुनका गहना तथा अलंकारले विशेष श्रृंगार गरिने धार्मिक अनुष्ठान हो, जुन वर्षमा पाँच अवसरमा आयोजना हुन्छ। तीमध्ये चारपटक मन्दिरभित्र र एकपटक रथमा श्रृंगार गरिन्छ। मन्दिरका अनुसार बहुदा एकादशी, पौष पूर्णिमा, दशहरा, कार्तिक पूर्णिमा र डोला पूर्णिमामा सुनाबेशा गरिन्छ। मन्दिरसँग सम्बन्धित स्रोतका अनुसार यो परम्परा गजपति राजा कपिलेन्द्र देवको शासनकालमा सन् १४६० तिर सुरु भएको मानिन्छ। नयाँ गहना तयार गर्नुको उद्देश्य पुराना गहनाको स्वरूप र धार्मिक महत्त्व कायम राख्दै अनुष्ठानका लागि थप एक सेट तयार गर्नु रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?