चरित्रहत्या र साइबर अपराधको जाहेरीपछि युट्युबर मनोज मानव पक्राउ
16 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असोज ५ गते । सामाजिक सञ्जालमार्फत अशिष्ट, तथ्यहीन तथा धम्कीपूर्ण सामग्री सम्प्रेषण गरी विभिन्न व्यक्तिको चरित्रहत्या गरेको आरोपमा ‘मनोज मानव’ नामले चिनिने युट्युबर मनोजकुमार महतो पक्राउ परेका छन्। सिरहा प्रहरीले उदयपुर प्रहरीको सहयोगमा आइतबार दिउँसो चतरा पुलस्थित एक होटलबाट महतोलाई पक्राउ गरेको हो। लहान नगरपालिका–२४ निवासी महतोविरुद्ध सिरहा प्रहरीमा साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पारेको कसुरमा जाहेरी परेको र सोही जाहेरीका आधारमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए।
प्रहरीका अनुसार महतोले सिरहाका जनप्रतिनिधि, पत्रकार, उद्योगी–व्यवसायी, राजनीतिकर्मी तथा राष्ट्रसेवक कर्मचारीलगायतलाई लक्षित गरी सामाजिक सञ्जालमा तथ्यहीन तथा आपत्तिजनक सामग्री पोस्ट गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यस्तै, आफूसँग स्वचालित हतियार रहेको र आफू पूर्वलडाकु भएको भन्दै हतियारको तस्बिर पठाएर केही व्यक्तिबाट आपराधिक लाभ लिएको तथ्यसमेत प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। महतोविरुद्ध यसअघि पनि विभिन्न मुद्दा परेको र तीमध्ये केही अदालतमा विचाराधीन रहेको प्रहरीले जनाएको छ। उनीबाट पीडित भएका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय, सिरहामा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments