धनुषामा १५ महिनाका बालकको सकुशल उद्धार: अपहरणकारी महिला सीमा क्षेत्रबाट पक्राउ

10 घन्टा पहिले प्रकाशित

  • घरको आँगनबाटै बेपत्ता भएका सिधान्त महतो १३ दिनपछि सकुशल भेटिए

  • ६० जनाको विशेष टोली र तालिमप्राप्त कुकुर प्रयोग गरी प्रहरीले बढाएको थियो चौतर्फी घेराबन्दी

  • भारतीय सीमा नजिकैबाट अपहरणकारी पुनिता देवी पासवान पक्राउ, मानव बेचबिखनको कसूरमा मुद्दा

जनकपुरधाम, भाद्र ३० गते । धनुषाको विदेह नगरपालिका-६ तीनकोरियाका १५ महिनाका बालक सिधान्त महतो अपहरणमुक्त भएका छन्। गत भाद्र १८ गते घरकै आँगनमा खेलिरहेको अवस्थामा हराएका बालकलाई प्रहरीको निरन्तर टोली परिचालन र कडा घेराबन्दी पछि १३ दिनपछि सकुशल उद्धार गरिएको हो।

चौतर्फी घेराबन्दी र अपरेशन बालक बेपत्ता भएको खबर पाउनासाथ प्रहरी चौकी गिद्धाको टोली खटिएको थियो। घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (प्र.उ.) रुपेश खड्काको कमाण्डमा ६० जनाको टोली तथा तालिमप्राप्त कुकुरसहित खोजतलास तीव्र पारिएको थियो।

साथै, मधेश प्रदेश प्रहरी कार्यालय र जिल्लाको संयुक्त प्रादेशिक सूचना विश्लेषण तथा अनुसन्धान समूह (PIIT) ले घटनाको प्राविधिक अनुसन्धान अगाडि बढाएको थियो।

अनुसन्धानका क्रममा धनुषाकै कमला नगरपालिका-९ हथलेट्वाकी ४१ वर्षीया पुनिता देवी पासवानले बालकको अपहरण गरी नेपाल र भारतका विभिन्न स्थानमा लुकाउँदै राखेको खुलेको थियो।

प्रहरीले सीमा क्षेत्र र जिल्लाका प्रमुख नाकाहरूमा २४ घण्टा कडा पहरा दिएपछि चौतर्फी दबाबमा परेकी पुनिताले भाद्र २९ गते अपराह्न ३:३५ बजे बालकलाई उनको घरभन्दा ३०० मिटर टाढा सडक छेउमा छाडेर भागेकी थिइन्। प्रहरीले बालकलाई तुरुन्त उद्धार गरी स्वास्थ्य परीक्षणपश्चात् अभिभावकको जिम्मा लगाएको छ। बालकको स्वास्थ्य अवस्था सामान्य छ।

सीमा क्षेत्रबाट पक्राउ बालक छाडेर भारततर्फ भाग्दै गरेकी शंकित पुनितालाई प्रहरीले सोही दिन अपराह्न ३:४५ बजे विदेह नगरपालिका-१ महिनाथपुरस्थित दशगजा (सीमा क्षेत्र) बाट नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्र.ना.उ. ओमप्रकाश खनालका अनुसार पक्राउ परेकी महिलामाथि अपहरण, शरीर बन्धक, तथा मानव बेचबिखन र ओसारपसार सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?