महोत्तरीमा युवकको हत्या, शव सेफ्टी ट्यांकीमा लुकाइएको अवस्थामा फेला
1 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, भाद्र २६ गते । महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा एक युवकको हत्या गरी शव सेफ्टी ट्यांकीमा लुकाइएको अवस्थामा फेला परेको छ। प्रहरीका अनुसार भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक सरदारको शव अशोक ठाकुरको घरको सेफ्टी ट्यांकीभित्र टुक्राटुक्रा पारिएको अवस्थामा भेटिएको हो। शवमाथि सिमेन्ट–बालुवा प्रयोग गरी ट्यांकी प्लास्टर गरिएको पाइएको प्रहरीले जनाएको छ।
रक्षाबन्धनको दिनदेखि बेपत्ता विवेकको अन्तिम मोबाइल लोकेसन घटनास्थलनजिकै देखिएको र अन्तिम फोन सम्पर्क अशोकका छोरा दिपेन्द्र ठाकुरकी श्रीमतीको नम्बरमा देखिएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ। घटनाबारे अनुसन्धानका क्रममा घरधनी अशोक र उनका छोरा दिपेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको बयानपछि शव सेफ्टी ट्यांकीमा लुकाइएको रहस्य खुलेको प्रहरीको भनाइ छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments