गरिमा चौधरी हत्या प्रकरणमा दुई नाबालक बाल सुधार गृह पठाइए

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम,भदौ २५ गते ।  तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई नाबालकलाई बारा जिल्ला अदालतले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म बाल सुधार गृहमा राख्न आदेश दिएको छ। न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले बालबालिकासम्बन्धी कानुनी व्यवस्थाअनुसार यस्तो आदेश दिएको हो। अदालतले पीडित पक्षलाई पीडित राहत कोषबाट तत्काल दुई लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनसमेत आदेश दिएको छ।

प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा १२ जनालाई नियन्त्रणमा लिइएकोमा दुई नाबालकलाई अदालतमा पेस गरिएको हो। उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। गरिमा साउन ३१ गते जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित एक घरमा खेल्न गएका बेला बेपत्ता भएकी थिइन् भने भदौ २ गते भक्तिनगरस्थित एक घरमा मृत अवस्थामा फेला परेकी थिइन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?